Advertisement
SKIP THIS
घाट लैजाने बेला संक्रमण पुष्टि

विराटनगर : मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको बिहीबार राति मृत्यु भयो। श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोसी अस्पताल लगिएको थियो। एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। आफन्तले ती पुरुषको शव घरमा ल्याए।

परिवारका सदस्यले मधुमेहको पुरानै समस्याका कारण उनको मृत्यु भएको हुन सक्ने अड्कल काटे। तर, उनमा कोरोना संक्रमण भएको यथार्थ शुक्रबार दाहसंस्कार गर्न घाट लैजाने बेला मात्रै थाहा भयो। वडाध्यक्ष विजय कामतले मृतकमा कोरोना संक्रमण रहेकाले घाटमा लैजान नमिल्ने बताए। त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो।

ती पुरुषको पीसीआर रिपोर्ट भने बुधबारै आएको रहेछ। रिपोर्टमा पोजिटिभ आएको कुरा प्रयोगशालाले प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकालाई जानकारी दिएको रहेछ। दुवै निकायले कोरोना देखिएकोे खबर समयमै सम्बन्धित व्यक्ति र परिवारलाई दिएनन्। ज्वरो, रुघाखोकीको समस्या देखिन थालेपछि ती पुरुषको स्वाब संकलन गरी गत सोमबार पीसीआर परीक्षण गर्न पठाइएको थियो।

‘अघिल्लो दिन पोजिटिभ रिपोर्ट आउँदा पनि कसैलाई जानकारी गराइएन’, मृतकका भान्जा सचिन कामतले भने, ‘त्यही कारण मृत्यु भइसक्दा पनि कोरोना छैन होला भनेर अन्त्येष्टिका लागि घाटसम्म लैजाने तयारी गरिएको थियो।’

कोरोना संक्रमणको खबर आएपछि परिवारका सदस्य, आफन्त र मलामी छाँगाबाट खसेजस्तै भएका छन्। मृत्युको शोकसँगै कोरोना सरेको हुन सक्ने आशंकाले उनीहरू तनावमा परेका छन्। परिवारका सदस्य र आफन्त गरेर २० जनाभन्दा बढी ‘होम क्वारेन्टाइन’मा बसेका छन्।

मृतकका २०, १८ र १५ वर्षका छोरी, १२ वर्षका छोरा र श्रीमती छन्। उनीहरू रोगले थलिएर नियमित औषधि सेवन गर्दै आएका अभिभावकको स्याहारमा खटिएका थिए। मजदुरी गरेर खाने परिवारको आर्थिक अवस्था कमजोर छ। मृतकको दाहसंस्कार गर्न पनि परिवारले ७ हजार रुपैयाँ ऋण खोजेको थियो।

‘मामालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो। पीसीआर रिपोर्ट पोजिटिभ आउँदासम्म हामीलाई जानकारी नदिएर प्रदेश र स्थानीय सरकारले गम्भीर लापरबाही गरे’, सचिनले भने, ‘त्यही भएर बिरामीको स्याहार गर्नेदेखि मृत्यु हुँदा शव अस्पतालबाट ल्याउने र जलाउन घाटमा लैजानेसम्मको तयारी गरिएको थियो।’

उनले परिवारलाई तत्काल जानकारी गराएर संक्रमितलाई उपचारमा लैजानुपर्नेमा उल्टै पोजिटिभ आएको रिपोर्ट लुकाउने काम भएको गुनासो गरे। ‘यो सरकारको हेलचेक्र्याइँ हो’, उनले भने, ‘जसका कारण एक जनाबाट सिंगो परिवार र अरू आफन्त संक्रमित बन्नुपर्ने अवस्था आएको छ।’

महानगरपालिकाले भने ‘होम आइसोलेसन’मा मृत्यु भएको भन्ने बनाएको छ। वडाध्यक्ष कामतले उपचारका लागि लैजाने प्रयास हुँदै गर्दा ‘होम आइसोलेसन’मै संक्रमितको मृत्यु भएको बताए। ‘रिपोर्ट पोजेटिभ आएको कुरा महानगरले भन्नासाथ मैले परिवारलाई जानकारी गराइदिएँ’, उनले भने, ‘तापनि संक्रमणले मृत्यु भएको थाहा हुँदाहुँदै आफन्तले शव दाहसंस्कारका लागि घाट लैजान लागेकाले मैले नै रोकेको हुँ।’

बेड अभाव रहेको भनेर कोभिड अस्पतालले अस्वीकार गर्दा आइसोलेसनमा लैजान नपाई घरमै संक्रमितको मृत्यु भएको उनको भनाइ छ। संक्रमितलाई उपचारको व्यवस्था गर्न नसक्नु सरकारको कमजोरी रहेको उनले बताए।

उनका अनुसार आफ्नो वडाका ४० संक्रमित ‘होम आइसोलेसन’मै बस्न बाध्य छन्। मृतकका परिवारका सदस्य, आफन्त र उनको सम्पर्कमा रहेका व्यक्तिको स्वाब आइतबार संकलन गरिने उनले बताए।

घरमै संक्रमितको मृत्यु भएको प्रदेश १ कै यो पहिलो घटना हो। विराटनगरमा शुक्रबारसम्म कोरोनाका कारण १ महिलासहित ९ जनाको मृत्यु भइसकेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले विराटनगरमा शुक्रबारसम्ममा कोरोना पुष्टि भएका ७ सय ७४ जनामध्ये ४ सय हाराहारी ‘होम आइसोलेसन’ मै रहेको जानकारी दिए।

६० जना क्षमता भनिएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १७ महिला र २४ पुरुष गरेर ४१ जना उपचाररत छन्। १ सय १८ महिला र १ सय ५६ पुरुष उपचारपछि डिस्चार्ज भएका छन्।

तपाईको प्रतिक्रिया