Advertisement
SKIP THIS
अछामको सूर्यचन्द्र माविमा कक्षा १२ को परिक्षा दिने बिधार्थीले पुरानै प्रश्नबाट परिक्षा दिईएपछि

अछाम: अछाममा कक्षा १२ का विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको छ । अछामको साँफेबगर नगरपालिका–१ कालीमाटीस्थित सूर्यचन्द्र मावि परीक्षा केन्द्रमा विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको हो । 

२०८१ सालको प्रश्नपत्र दिनुपर्नेमा २०८० सालको पुरानै प्रश्न पत्रबाट विद्यार्थीहरूले परीक्षा दिएका हुन् । परीक्षा दिएर बाहिर निस्केपछि मात्रै विद्यार्थीहरूले पुरानो प्रश्न पत्र नै दिएकोबारे जानकारी पाएका थिए ।

९७ जना नियमित र ७ जना आंशिक तर्फका गरी १०४ जना विद्यार्थीले आज ‘३०४१–एच’ विषय कोड रहेको अर्थशास्त्र विषयको परीक्षा दिएका थिए । परीक्षा दिएर बाहिरिएपछि विद्यार्थीले पुरानो प्रश्न पत्रबाट परीक्षा दिएको जानकारी पाएका थिए । त्यसपछि विद्यार्थीहरूले केन्द्राध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादर शाहलाई जानकारी गराएका थिए । 

पुरानो प्रश्न पत्रबाट परीक्षा दिने सबै विद्यार्थीको परीक्षा रद्द गरिएको छ । उनीहरूलाई अब अर्को मितिमा अर्को परीक्षा हुनेछ ।  परीक्षा २०८१ मा भइरहेको तर, विद्यालयको लापरबाहीका कारण २०८० सालको पुरानो प्रश्न पत्र प्रिन्ट गरेर परीक्षामा सहभागी परीक्षार्थीलाई वितरण गरिएको थियो । 

केन्द्राध्यक्ष शाहले राष्ट्रिय परीक्षा बोर्डबाट ढिलागरी प्रश्न पत्र मेलमा आएको र पेनड्राइभमा हालेर प्रिन्ट गर्ने बेला पुरानो प्रश्न पत्र प्रिन्ट हुन पुगेको बताए । 

‘आज अर्थशास्त्र र नेपाली विषयको परीक्षा थियो । अर्थशास्त्र विषयको प्रश्न पत्र पेनड्राइडमा हालेर प्रिन्ट गर्न दिएको थिए । म नेपाली विषयको प्रश्न पत्र डाउनलोड गर्नतिर लागेको थियो,’ शाहले भने, ‘उता पेनड्राइभमा पुरानो प्रश्न पत्र पनि रहेछ । प्रिन्ट गर्ने बेला त्यही पुरानो प्रश्न पत्र प्रिन्ट भएछ । हतार हतार भएकाले हामीले प्रश्न पत्र हेर्न सकिएन । विद्यार्थीलाई बाँडेपछि परीक्षा दिए । अन्तिममा थाहा भयो ।’

पुरानो प्रश्न पत्रबाट परीक्षा दिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डमा जानकारी गराइएको उनको भनाइ छ । बोर्डले लिखित रूपमा उक्त जानकारी दिन विद्यालयलाई भनेको छ । सोही आधारमा आफूले लिखित रूपमा जानकारी पेश गर्न लागेको शाहले बताए । 

‘पुरानो प्रश्न पत्रबाट परीक्षा दिएपछि आजको परीक्षा रद्द गरिने शाहले बताए । यस्तो भयो अब के गर्ने भनेर बोर्डमा खबर गरेको थिए । बोर्डबाट आजको परीक्षा रद्द हुन्छ भन्ने जानकारी दिनुभएको छ । अब अर्को मितिमा आज रद्द गरिएको विषयको परीक्षा हुन्छ,’ शाहले भने ।

तपाईको प्रतिक्रिया