Advertisement
SKIP THIS
अछाममा वैवाहिक बलात्कारका घटना बढे

अछाम : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्वसमीक्षा कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सन् २०२२ को एक वर्षको अवधिमा घटेका घटनाहरुको बारेमा छलफल गरिएको छ ।

एक वर्षको अवधिमा अछाममा घटेका वैवाहिक बलात्कार, बलात्कार बलात्कारका प्रयास, हत्या, आत्महत्या दुरुत्साहन, कुटपिट, बहुविवाह र घरेलु हिंसाका घटना इन्सेक जिल्ला प्रतिनिधि शिवराज ढुंगानाले प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका घटनामा वैवाहिक बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ ।

यस्तै सबै भन्दा बढी घरेलु हिंसाका घटना प्रहरीमा पुगेको तथ्यांक रहेको छ । समीक्षा कार्यक्रमका सहभागी स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले गरिबी, बेरोजगारी, तनाव र मदिरा सेवनका कारण घटना भइरहेको भनाइ राखे । रोजगारमुलक भएर गरिबीको अन्त्य, मदिरा र तनावको व्यवस्थापन गर्न सके जिल्लामा हुने घटना नियन्त्रणमा आउने जनप्रतिनिधिहरूको भनाइ छ ।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले इन्सेकले प्रकाशन गर्ने घटनाहरुले जिल्लाको मानव अधिकारको अवस्था देखाउने भन्दै यसलाई न्यूनिकरणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने भनाइ राखे । एकै स्थानमा रहेका व्यक्तिहरुको आर्थिक अवस्थामा ठूलो फराकिलो भएकोले विभिन्न घटना घट्न सक्ने भनाइ कुँवरको छ । मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि हरेक व्यक्तिमा अधिकार र कर्तव्यको पाठ सिकाउनुपर्ने उनको भनाई थियो ।

समीक्षा कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, उपप्रमुख शिवबहादुर कुँवर, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बीसी र उपाध्यक्ष बिमला शाहीले सुझाव मन्तव्य राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेले जिल्लामा आत्महत्याका घटनामा वृद्धि भइरहेको भन्दै यसको न्यूनिकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा जनप्रतिनिधि, सरकारी, गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरू, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया