यता सिता वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको शपथ खाइरहेकी थिइन् । उता सुर्खेतको शुभकुनामा पार्वती वादी छोरीलाई टिभीमा हेरेर भावुक बनिरहेकी थिइन् । छोरीलाई टिभीमा हेर्न भनेरै झुप्रा खोलाको टहराबाट शुभकुनामा पुगेकी थिइन् पार्वती ।
छोरीलाई टिभीमा हेरिरहँदा पार्वतीको आँखामा भने सानी सीता वादी नाचिरहेकी थिइन् । सानी सीतासँगै झुप्रा खोलाको वादी बस्ती र उनीहरूको दुःखलाई बगाएर लान नसकेको खोलाको पानी उनको आँखामा छचल्किरहेको थियो । त्यही खोलामा गिटी कुटेर, बालुवा छानेर पार्वती र गोपाल वादीले सितालाई अक्षरहरूको सत्संगमा पुर्याएका थिए ।
अक्षरहरूसँग खेल्न थालेपछि सिताले सधैँ भन्ने गर्थिन्, ‘आमा, म ठूलो मान्छे भएर हाम्रो गरिबी हटाउनेछु ।’
झुप्रा खोला किनारको गोपाल-पार्वतीको गरिबी मात्र होइन, सिङ्गै वादी समुदाय अनि सिङ्गै देशका जनताको गरिबी हटाउने अभिभारा अहिले सिताको काँधमा आइलागेको छ । यद्यपि सिता कति ठूली मान्छे भइन्, पार्वतीलाई थाहा छैन । पार्वतीलाई यति मात्र थाहा छ,- सिता उनकी छोरी हुन्, जो आज मन्त्रीको पदभार ग्रहण गर्दा भावविह्वल भइन् ।
एक क्षण पनि नसोची उनले भनिन्, ‘एकदम खुसी भएका छौँ । हामी जस्तो दुखी, गरिबले यस्तो होला भनेर सोचेकै थिएनौँ । हाम्रो लागि त सोच्दै नसोचेको कुरा भयो ।’
आज बिहान मात्र सिताले पार्वतीलाई फोन गरेकी थिइन् । आफूले लिन लागेको पदबारे जानकारी गराएकी थिइन् । पदबारे थाहा पाएपछि आफूलाई एकदमै खुसी लागेको पार्वतीको भनाई छ । अन्तिम पटक आमाछोरीको भेट फागुन १३–१४ गतेतिर भएको थियो । त्यसपछि स-शरीर भेट भएको छैन ।
सिताकी बुवा गोपाल वादी खुसी नहुने त कुरै भएन । पार्वतीले स्कुल नै नटेके पनि गोपालले भने त्यो जमानामा आठ कक्षासम्म पढेका थिए । बीचमा विदेश जाने भनेर गोपालले ऋणपान गरेका थिए, तर उनको पैसा एजेन्टले हिनामिना गरिदिए ।
‘त्यसको पिरले पनि उहाँलाई मानसिक रोग लागेको थियो । अहिले छोरीको सफलताले त्यो रोग नै निको होला जस्तो भएको छ,’ पार्वतीले गोपालबारे बताइन् ।
घरकी सबैभन्दा जेठी छोरी हुन् सिता । सितामुनीका दुई भाइ र एक बहिनी छन् । उनीहरू काठमाडौंमै बस्छन् । गोपाल–पार्वती भने अहिले पनि झुप्रा खोलामै बस्छन् । खेतीपाती त केही छैन, भूमिहीन हुन् । उनीहरूले आफू बसेको जमिनको लालपूर्जा पनि पाएका छैनन् । त्यहाँ बंगुर पाल्छन्, गिटी कुट्छन्, बालुवा छान्छन् ।
मैले सोधेँ, ‘गिटी कुटेर, बालुवा छानेरै छोरीलाई डिग्रीसम्म पढाउनुभयो है ?’
‘झुप्राको बास भए पनि, गिटी कुटेर भए पनि पढाइमा छोरीलाई अगाडि बढायौँ । छोरीले राम्रोसँग पढिन् । ठूलो भएपछि ज्योतिको घर भन्ने संस्थाले लिएर गयो, छोरीलाई थप पढायो,’ पार्वतीले थप भनिन्, ‘म त एक कक्षा पनि नपढेको मान्छे । तर, गिटी बालुवा गरेर भए पनि छोरीलाई पढाउँछु भन्ने मेरो सोच थियो । त्यो सोच अहिले पूरा भयो ।’
छोरी मन्त्री भएपछि काठमाडौं आउने कि झुप्रा खोलातिरै बस्ने भन्ने निर्णय चाहिँ सितालाई नै छाडिदिएकी छन् । उनले भनिन्, ‘हामी त जहिल्यै छोरीकै सल्लाह, सुझावमा हिँड्यौँ । छोरीले आउनु भन्यो भने त अहिले नै हिँडिदिन्छु । दुईचार दिनपछि मात्र आउनु भन्यो भने दुईचार दिनपछि नै जान्छु ।’
झुप्रा खोलाको वादी समुदायमा डिग्री पास गर्ने पहिलो व्यक्ति नै सिता हुन् । तर, अहिले पनि धेरै बालबच्चाहरूले गरिबीको कारण पढ्न नपाएको पार्वतीको भनाइ छ ।
छोरी नै मन्त्री भएपछि अब झुप्रा खोलाको वादी समुदायलाई स्वास्थ्य, शिक्षामा हेरोस् भन्ने उनको चाहना छ । अहिलेसम्म वादी समुदायको पीडा सुनिदिने कोही व्यक्ति नभए पनि अब छोरीले सुनिदिने उनको विश्वास छ ।
पार्वतीले छोरीसँग समुदायको तर्फबाट माग पनि राखिन्, ‘हामी छोरीलाई के भन्छौँ भने कि हामीलाई यही बस्तीमा लालपूर्जा दिनुपर्यो । होइन भने यहाँको बस्तीको विकल्पमा अर्को ठाउँको व्यवस्था हुनुपर्यो ।’
सिङ्गै बस्तीले पनि अब सिताले झुप्रा खोलाको पीडाहरूमाथि सुनुवाइ गरिदिने आशा समेत राखेको पार्वतीले बताइन् ।
मैले सोधेँ, ‘छोरी मन्त्री भएपछि बालुवा छान्ने, गिटी कुट्ने काम छाडिदिनुहुन्छ कि के गर्नुहुन्छ ?’
‘त्यो काम बाहेक अरू के गर्नु र ! झुप्रामा पानी बाहेक सबैथोक किन्नुपर्छ । पढ्ने बालबच्चा अझैँ छन्, उनीहरूलाई पढाउनुपर्यौ । आफ्नो स्वास्थ्यको लागि पनि पैसा चाहियो । गिटी बालुवा त अझैँ पनि बनाउँछौँ ।’
पार्वतीका अनुसार सिता सानैदेखि पढाइमा तीक्ष्ण थिइन् । सितालाई ४ कक्षादेखि ९ कक्षासम्म पढाएका प्रधानाध्यापक गेहेन्द्रप्रसाद दाहालका अनुसार पनि सिता राम्रै विद्यार्थीमा दरिन्थिन् । दाहालका अनुसार २०६० साल वरिपरि बुवा गोपालको हात समातेर सिता जनसेवा माविमा ४ कक्षामा भर्ना हुन आएकी थिइन् ।
दाहालले नै शिक्षा विभागमार्फत पहल गरेर वादी समुदायलाई विशेष छात्रवृत्तिका लागि पहल गरेका थिए । त्यसअघि दलित समुदाय अन्तर्गत नै छात्रवृत्ति आउँथ्यो । तर, २०५७ सालबाट वादी समुदायले अलग्गै छात्रवृत्ति पाउन थाले । त्यसबेला सिताको पढाइ र छात्रवृत्तिका लागि पहल गरेका दाहालले भने, ‘अहिले उनी मन्त्री बनेको सुन्दा गर्वले छाती फुलिएको छ ।’
राजनीति शास्त्रमा मास्टर्स गरेकी सिता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दलित क्लस्टर अन्तर्गत समानुपातिक सांसद बनेकी हुन् । वादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्तिको समेत बनेकी छन् सिता ।
नेपाल प्रेस









