Advertisement
SKIP THIS
कसैको खुशीका लागि आफ्नै मुटुको टुक्रा पनि

हृदयभरि पीडाको ज्वाला बोकेर
मस्तिष्कभरि असह्य वेदना बोकेर पनि
जिउनुपर्दो रहेछ जिन्दगी

कसैको खुशीका लागि
आफ्नै मुटुको टुक्रा पनि
हाँसीहाँसी सुम्पिदिनुपर्दो रहेछ
आफ्नै उज्यालो भविष्यको दिएर तिलाञ्जली
सुनौला अवसरहरू त्याग्नुपर्दो रहेछ
—–
नियतिले लखेटेपछि,
रोकिए पनि श्वासप्रवाह
बन्द भए पनि मुटुको चाल
फुटिगए पनि आँखाका दुई नानी
जबर्जस्ती श्वास फेर्नुपर्दो रहेछ
सकिनसकी संसार नियाल्नुपर्दो रहेछ
नधड्किने धडकन छामेर
असारे गीत गाउनुपर्दो रहेछ
आखिर ,
यो धर्ती छोडिजाँदासम्म त
आँसुको घुट्की पिएर भए पनि
बाँच्नु त पर्दो रहेछ –
एक जिन्दगी
———
चक्र रावल,अछाम

तपाईको प्रतिक्रिया