Advertisement
SKIP THIS
‘असारे मसान्त’ को चटारोका बिच  रामारोशन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिए

अछाम :आर्थिक वर्षको अन्त्य अर्थात् ‘असारे मसान्त’ को चटारोका बिच अछामको रामारोशन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । लामो समयदेखि गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्दै आएका रामबहादुर भण्डारीको बैतडीस्थित पञ्चेश्वर गाउँपालिकामा सरुवा भएपछि स्थानीय राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।

गाउँपालिकामा ‘शैक्षिक रूपान्तरण अभियान’ सञ्चालन गरी शिक्षा क्षेत्रमा सक्रिय भूमिका खेलेका भण्डारीको सरुवा नियमित प्रशासनिक प्रक्रिया मात्र नभई पछिल्ला केही विवादसँग पनि जोडिएको चर्चा भइरहेको छ ।

स्थानीय स्रोतका अनुसार केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति भरत चन्द बटालाले सामाजिक सञ्जालमार्फत भण्डारीमाथि टिप्पणी गरेका थिए । त्यसपछि भण्डारीले कानुनी उपचार खोज्दै सम्बन्धित निकायमा उजुरी दिएपछि दुवै पक्षबीच सम्बन्ध चिसिएको बताइन्छ ।

यता रामारोशन–५ स्थित यशोदा माध्यमिक विद्यालय,नेटाकोटको विद्यालय व्यवस्थापन समिति गठनको विषयले अर्को विवाद सिर्जना गर्यो । समिति गठन प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि प्रमुख प्रशासकीय अधिकृत भण्डारीले छानबिन समिति गठन गरी विद्यालयलाई पत्राचार गरेका थिए ।

स्थानीय तहमा चलिरहेको चर्चाअनुसार उक्त कदमबाट असन्तुष्ट बनेको एक पक्षले राजनीतिक पहुँच प्रयोग गरी सरुवा गराउन भूमिका खेलेको आरोप लगाइएको छ । केही स्थानीयले रास्वपाकी समानुपातिक सांसद रतना थापाको नामसमेत जोडेर चर्चा गरिरहेका छन् । तर यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।

स्रोतका अनुसार आर्थिक वर्षको अन्त्यतिर प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्दा पालिकाको नियमित कामकाज प्रभावित हुन सक्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तत्काल सरुवाको पक्षमा नरहेको थियो । तर विभिन्न तहबाट दबाब बढेपछि अन्ततः सरुवा प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ ।

यद्यपि प्रमुख प्रशासकीय अधिकृत भण्डारी भने सरुवालाई सामान्य प्रशासनिक प्रक्रिया भएको बताउँछन् । उनले सरुवा कर्मचारी प्रशासनको नियमित विषय भएकाले यसलाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया