धनगढीः कञ्चनपुरमा जारी निशेधाज्ञा जेठ ७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ।
कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) कञ्चनपुरले जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउन जिल्ला प्रशासन समक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा थप कडाइका साथ निषेधाज्ञा लम्बाइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।कञ्चनपुरमा यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको भन्दै थप निषेधाज्ञा लम्ब्याइएको उनले बताए। निषेधाज्ञा थप कडा पार्न प्रमुख जिल्ला अधिकारीले १५ बुँदे आदेश जारी गरेका छन्। जसअनुसार अबदेखि हाटबजार तथा सब्जीमण्डी बन्द हुनेछन्। स्वास्थ्य सेवा, दुध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धीका पसलबाहेक अन्य सबै पसल बन्द हुनेछन्। खाद्यबस्तुका पसल भने स्वास्थ्य मापदण्ड पालना गरी आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने प्रजिअद्वारा जारी आदेशमा उल्लेख छ।
तरकारी तथा फलफूल आपूर्तिका लागि भने सम्बन्धित स्थानीय तह तथा उद्योग वाणिज्य संघको समन्व्यमा आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म घुम्ती पसल सञ्चालन गर्न पाइने छ। यस्तै राजस्व दाखिला र सरकारी प्रायोजन बाहेक बैंक तथा वित्तिय संघसस्थाहरु बन्द रहने जारी आदेशमा भनीएको छ।