Advertisement
SKIP THIS
इरानले खसाल्यो अमेरिकी विमान

काठमाडौं :पश्चिम एशियामा तनाव उत्कर्षमा पुगेको छ। इरानमाथि अमेरिका र इजरायलले आक्रमणलाई तीव्र पारेका छन् भने इरानले पनि प्रत्याक्रमण गरिरहेको छ। शनिबार अमेरिका आफ्नो खसालिएको लडाकु विमानको पाइलटको खोजीमा छ भने इरानले अमेरिकामाथि निरन्तर क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

इरानमा खसालिएको आफ्नो फाइटर जेटका पाइलटको खोजीमा अमेरिकाले सी-१३० हर्कुलस जस्तो ठूलो विमान प्रयोग गरिरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा यो विमान इरानको आकाशमा निकै कम उचाइमा उड्दै ‘फ्लेयर्स’ छोडिरहेको देखिन्छ।

विमानले आफूलाई मिसाइल आक्रमणबाट बचाउन यसरी तातो फ्लेयर्स छोड्ने गर्दछ, जसले गर्दा मिसाइलले विमानको इन्जिनको तातोलाई नभई फ्लेयर्सलाई निशाना बनाउँछ।

यसैबीच, इजरायलका एक अधिकारीले खसालिएको अमेरिकी जेटका दुईमध्ये एक पाइलटलाई इरानभित्रबाट जीवितै उद्धार गरिएको दाबी गरेका छन्। अर्का पाइलटको खोजी अझै जारी छ। यद्यपि यस दाबीको आधिकारिक पुष्टि हुन बाँकी छ।

यसअघि इरानले अमेरिकी एफ-३५ फाइटर जेट खसालेको दाबी गरेको थियो, तर केही रिपोर्टहरूले उक्त विमान एफ-१५ ई हुन सक्ने बताएका छन्। यसैगरी, खाडी क्षेत्रको होर्मुज नजिकै ए-१० वारथोग विमान पनि दुर्घटनाग्रस्त भएको र त्यसमा सवार दुईमध्ये एकको उद्धार गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया