Advertisement
SKIP THIS
जातिय भेदभाव गर्ने वडाध्यक्ष जेलमा

कास्की: पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र ७५ हजार जरिवानाको फैसला गरेको छ।

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा अधिकारीलाई आज अदालतले सो बमोजिमको आदेश गरेको हो। जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार जातीय तथा अन्य सामाजिक छुवाछुत र भेद्भावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो। सो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि रु दुई लाखसम्म जरिवानाको व्यवस्था छ।

सो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहेपनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारीले बताए। पोखरा–२४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएकी थिइन्। यसैगरी पीडित नेपालीलाई अधिकारीले रु १० हजार क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ।

वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वर्ष पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा रु एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

तपाईको प्रतिक्रिया