Advertisement
SKIP THIS
दाईजोको निहुँमा नवविवाहित युवतीको हत्या

रौतहट : वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ ।

जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो। गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरेका हुन्।

मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन्। आफूहरुसँग पटक–पटक दाइजो स्वरुप रकम माग्ने गरेको र रकम नदिएका कारण हत्या भएको उनीहरूको भनाइ छ।

ससुरा चन्देश्वर दास र श्रीमान रमाकान्त दासको मिलेमतोमा सासू शिवा देवी, देवर उमाकान्त दास, नन्द रञ्जना दास, ठूला ससुरा विन्देशवर दासले साउन २ गते बेलुका सञ्जुको हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आरोप लगाए।

उनले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिन खोज्दा समेत प्रहरीले जाहेरी लिन नमानेको बताए। प्रहरीले उनीहरुविरुद्ध जाहेरी लिन नमानेको भन्दै आक्रोश पोखे।

जातीय परम्परा अनुसार एक महिनाअघि २०७९ असार ६ गते रमाकान्तसँग सञ्जुको विवाह भएको थियो। विवाह भएलगत्तै दाइजो नल्याएको भन्दै छोरीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको रामचन्द्रले बताए।
 
सञ्जुको बिहेमा दाइजोकै विषयलाई लिएर विवाद भई केटा र केटी पक्ष बीच कुटाकुटको घटना समेत भएको थियो। पछि विवाद मिलाएर विवाह सम्पन्न भएको थियो। विहेको दिनदेखि नै सञ्जुले घरमा यातना पाएको माइतीपक्षको आरोप छ।

हत्या भएको दिन साँझ करिब ६ बजेको समयमा सञ्जुसँग इमोमा कुरा भइरहँदा गाली गरेर फोन काट्न लगाएको आमाले बताइन्। केही बेरमा सञ्जुकी ठूलीे दिदीले इमोमा फोन गर्दा फोन रिसिभ भएको र सञ्जु झुण्डिएकोे अवस्थामा देखिएकी थिइन्।

लगत्तै आफूहरू सञ्जुको घर पुग्दा उनलाई घरको बरण्डामा सुताएर राखेको थिए। स्थानीय बासिन्दाले समेत दाईजो नदिएका कारण सञ्जुको हत्या भएको हुनसक्ने बताएका छन्।

इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी बरूण सिंहसँग बुझ्दा पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको र घटना बारेमा अनुसन्धान भइरहेको बताए। 

तपाईको प्रतिक्रिया