Advertisement
SKIP THIS
आफ्नो लेटरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्ने एमाले सांसद रावलको चेतावनी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले संसद्‌भित्रै सरकारका मन्त्रीहरूको भण्डाफोर गर्ने चेतावनी दिएका छन्।

साेमबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै प्रतिपक्षका सांसदहरूले आफ्नो लेटरप्याडमा लिएर गएको माग पत्र केही मन्त्रीहरूले विपक्षको हो भनेर च्यातेको खबर आफूले पाएको उल्लेख गर्दै सांसद रावलले त्यस्ता मन्त्रीहरूको आफूले संसद्‌मै भण्डाफोर गर्ने बताएका हुन्।

अराजक मन्त्रीलाई यहीबाट जनताको तर्फबाट आफ्ना लेटरप्याड च्यात्ने मन्त्रीहरू, जनताले तपाईँका हात, तपाईको मुख च्यात्न नपरोस् भन्दै चेतावनी दिए। उनले प्रतिपक्ष दलका सांसदको लेटरप्याड नै च्यात्ने त्यस्ता मन्त्रीहरूको हातमुख च्यात्न नपरोस् भनी सचेत समेत गराए। 

किसानलाई रासायनिक मल र त्यसको भण्डारणको व्यवस्था गर्न पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको समर्थन गर्दै सांसद रावलले किसान मलको अभावमा छटपटाइरहेका वेला विदेश भ्रमणमा भएको भन्दै कृषिमन्त्री महिन्द्रराय यादवप्रति खेद प्रकट गरे।

‘यतिबेला जनता सरकार खोजिरहेका छन्। यो सरकार बनेको करिव एक वर्षभन्दा बढी हुन लागिसक्यो। सरकार कुम्भकर्णको निद्रामा छ। हामीले यही संसद्‌भित्र पनि सम्बन्धित विभागीय मन्त्री धेरै दिन खोज्यौँ। मन्त्रालयमा पनि गइयो। मन्त्रीजी किसानहरूको जल्दोबल्दो समस्यामा बेखबर हुनुहुन्छ। उहाँ विदेश सयरमा हुनुहुन्छ भन्ने कुरा मन्त्रालयबाटै सुन्यौं’‚ उनले भने।

‘किसान मल नपाएर छट्पटिरहेका बेला, किसानहरू सिंहदरबारको मुख ताकेर बसिरहेका बेला सम्बन्धित विभागीय मन्त्री कानमा तेल हालेर, किसानको समस्याप्रति बेखवर भएर विदेश सयर गर्ने कृषिमन्त्रीप्रति खेद व्यक्त गर्न चाहन्छु।’

सरकारले जनताको पक्षमा, किसानको पक्षमा कुनै पनि काम गर्न नसकेको उनले बताए।

‘जनतालाई ठग्ने बाहेक अरु कुनै काम गर्न सक्दैन। मैले भर्खर मात्रै सुनेँ– यो गठबन्धनका केही केही माननीय मन्त्री यस्ता छन्, जो प्रतिपक्षका सांसदहरूले जनताको माग लिएर आफ्नो लेटरप्याडमा मन्त्रालयका पेश गरेका मागहरू यो प्रतिपक्षको हो भनेर गैर जिम्मेवार भएर च्यात्ने काम गरिरहेका छन्। त्यस्ता मन्त्रीहरूको म विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने म यो वाचा गर्न चाहन्छु’, उनले भने।

सांसद रावलले एक वर्ष बितिसक्दा पनि कुम्भकर्णे निद्रामा रहेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया