अछाम:मंगलसेन नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ सम्पन्न
मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका योजना, कार्यक्रम तथा आय–व्ययको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
नगर प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा एक आर्थिक वर्षमा नगरपालिकामार्फत सम्पन्न भएका गतिविधिको समीक्षा गर्नुका साथै नागरिकसँग प्रत्यक्ष सवाल–जवाफ गरिएको थियो।
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले सुशासन र पारदर्शिताको क्षेत्रमा नगरपालिकाले केही सकारात्मक अभ्यास सुरु गरेको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन सुझाव दिएका छन्। उनीहरूले हालसम्म भएका प्रगतिलाई संस्थागत गर्दै सरोकारवालाबाट आएका सुझावलाई आत्मसात् गरी अघि बढ्न सके नगरपालिकामा राम्रो प्रशासनिक संस्कारको विकास हुने धारणा व्यक्त गरेका थिए।
वडा नं. ५ को प्राङ्गणमा सम्पन्न कार्यक्रममा सहभागीहरूले नगरपालिका नागरिकको पक्षमा अझ प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले केही काममा अझै पनि पारदर्शिताको अभाव रहेको, जनप्रतिनिधि तथा कर्मचारी पर्याप्त जवाफदेही नभएको भन्दै यसतर्फ नगरपालिका गम्भीर हुनुपर्ने बताए।
सहभागी अधिकांश नागरिकले नगरपालिकाबाट प्रदान गरिने अनुदान कार्यक्रममा पूर्ण पारदर्शिता हुनुपर्ने, कर्मचारी भर्ना योग्यता र क्षमताका आधारमा गर्नुपर्ने, बजार क्षेत्रको सरसफाइमा विशेष ध्यान दिनुपर्ने तथा विकास निर्माणका कार्यको प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए।
सहभागी सरोकारवालाहरूका प्रश्नको जवाफ दिँदै नगर प्रमुख पदमबहादुर बोहराले सार्वजनिक सुनुवाइमा सहभागी भई महत्वपूर्ण सुझाव र खबरदारी गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। नागरिकको नगरपालिकाप्रति धेरै अपेक्षा हुनु स्वाभाविक भए पनि सीमित स्रोत–साधनका कारण अपेक्षाअनुसार सबै काम गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो।
उहाँले मंगलसेन नगरपालिकामा धेरै सकारात्मक काम भएको उल्लेख गर्दै राम्रो कामको पनि प्रशंसा गर्ने संस्कारको विकास गर्न आग्रह गर्नुभयो। आफ्नो कार्यकालमा सुशासन र पारदर्शिताका क्षेत्रमा केही असल अभ्यासको सुरुआत भएको दाबी गर्दै उहाँले यस क्षेत्रमा मंगलसेन नगरपालिका जिल्लाकै अग्रणी रहेको बताउनुभयो।
कतिपय नागरिकले रचनात्मक सुझाव दिएको र केहीले राजनीतिक पूर्वाग्रहका आधारमा प्रश्न उठाएको भए पनि आफूले सबै सुझावलाई सकारात्मक रूपमा लिएको उहाँको भनाइ थियो। “नगरपालिका हामी सबैको साझा संस्था हो,” भन्दै उहाँले राम्रा काममा साथ दिन र कमजोरीप्रति निरन्तर खबरदारी गर्दै सचेत नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
नगर उपप्रमुख सङ्गीता रावल सोडारीले महिला तथा बालबालिकाको क्षेत्रमा नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै ती अझै पर्याप्त नभएको बताउनुभयो। सीमित स्रोत–साधनका बाबजुद पनि धेरैभन्दा धेरै नागरिकलाई समेट्ने प्रयास गरिएको उहाँको भनाइ थियो। सबै लक्षित वर्गसम्म पुग्न नसकिएको स्वीकार गर्दै आगामी वर्ष थप रचनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव बमबहादुर रावलले नगरपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको सार्वजनिक सुनुवाइले समुदायमा सकारात्मक प्रभाव पारेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिनुभयो। उहाँले नगरका सकारात्मक काममा आफ्नो पार्टीको साथ रहने र कमजोरीप्रति निरन्तर खबरदारी गरिने बताउँदै नागरिकलाई पनि सचेत रहन आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी नागरिकका प्रश्नको जवाफ सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीहरूले दिएका थिए। सहभागीहरूले देखिएका कमजोरी सुधार गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गरेका थिए। नगरका विभिन्न वडाबाट आएका सहभागीहरूले जनप्रतिनिधि तथा कर्मचारीसमक्ष आफ्ना गुनासा र सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमको प्रारम्भमा प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकामार्फत सम्पन्न भएका कार्यक्रम तथा बजेट कार्यान्वयनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको उद्देश्यबारे प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले जानकारी गराउनुभएको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन सूचना अधिकारी विष्णुप्रसाद जैशीले गर्नुभएको थियो भने सहजीकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेकबहादुर थापाले गर्नुभएको थियो।










