Advertisement
SKIP THIS
दार्चुलामा प्रहरीहरुबीच नै आपसमा झडप

पुस:दार्चुलामा प्रहरीहरुबीच नै आपसमा झडप भएको छ। बुधबार बेलुका ७८ बजेको समयमा मालिकार्जुन प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो।

प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद भएर झडप भएको एक प्रहरी अधिकारीले पुष्टि गरे। उनले सवारी साधन चेकजाँचको विषयलाइ लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि झडप भएको बताए। मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरुबीच झडप भएको थियो।

उक्त झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएको बताइएको छ। उनको हात र शरिरमा चोट लागेको छ। यता, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले चौकीमा झडप भएकोबारे आफुलाई जानकारी नभएको बताए।

‘झडप भएको जानकारी छैन। त्यस्तो नभएको होला। सामान्य विवाद भएपनि त्यो समाधान हुन्छ,’ उनले भने। झडपमा संलग्न सुरक्षाकर्मीहरुलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको छ।

तपाईको प्रतिक्रिया