डोटीः हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ। सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए। राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ। यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपात जारी रहेको प्रहरीले जनाएको छ।
यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातीदेखि हिमपात भइरहेको छ। हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ। हिमपातले नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको बताइएको छ। हिउँ करिब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ।









