Advertisement
SKIP THIS
चारवटा निर्णय गर्दै कांग्रेसको पहिलो केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौं:नेपाली कांग्रेसको १४औं केन्द्रीय समितिको पहिलो बैठक चारवटा निर्णय गर्दै सकिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका चारवटा निर्णय गर्दै सकिएको हो।

बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्‍न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्‍न गर्न पार्टीको विभिन्‍न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्‍चारमाध्यमसहितलाई धन्यवाद दिने निर्णय समेत गरेको छ।

त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए।

दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ।

महामन्त्री थापाले भने, ‘राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनका लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि गरिएको छ। त्यसैगरी निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि दलको तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय पनि गरिएको छ।’

गत मंसीर २४ देखि २८ गतेसम्म सम्पन्‍न कांग्रेसको १४ औं महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ। निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुले शनिबार नै निर्वाचित भएको प्रमाणपत्र पनि ग्रहण गरेका छन्।

तपाईको प्रतिक्रिया