सन्तोष खड्का मेल्लेख:नेपालको सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको उत्तरी भागमा अवस्थित मेल्लेख गाउँपालिका ऐतिहासिक, भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक दृष्टिले अत्यन्तै विशिष्ट पहिचान बोकेको क्षेत्र हो। जिल्ला सदरमुकाम मङ्गलसेनदेखि करिब ९ कोष (२७ किलोमिटर) उत्तरमा रहेको यस पालिकाको पूर्वमा रामारोशन गाउँपालिका, पश्चिममा साँफेवगर नगरपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा बान्नीगढी–जयगढ गाउँपालिका पर्दछन्। हाल ८ वटा वडामा विभाजित मेल्लेखको पालिका कार्यालय समुद्री सतहदेखि १६९८ मिटरको उचाइमा रहेको छ। पालिकाको नामकरण र केन्द्र चयनमा साविकको ५ नं. वडा (विन्धेवासिनी) ऐतिहासिक रूपमा नै केन्द्रबिन्दु रह्यो। यी आठ वडाहरूको वर्तमान एकताको आधार पुरानो ‘पन्ध्रबिस दरा’ प्रणाली नै हो।
नेपालको एकीकरण अघि मेल्लेख क्षेत्र शाहवंशीय शासक मध्येका बिम्कोटे राजाको शासन अन्तर्गत थियो। विम्कोटको केही अंश हालको विन्धेवासिनी (वडा ५) र हात्तिकोट (वडा ८) मा पर्दछ। राणाकालीन जनगणना (वि.सं. १९६८) पश्चात् अछाम जिल्लालाई विभिन्न दराहरूमा विभाजन गर्ने क्रममा षोडशा, ठाँटी, कुस्कोट, विन्धेवासिनी, हात्तिकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई समेटेर ‘पन्ध्रबिस दरा’ भनिन्थ्यो। त्यतिबेला अछाम जिल्ला १३ वटा इलाकाहरूमा विभाजित थियो। हालको मेल्लेख यी सबै गाउँपञ्चायतको मध्य भागमा पर्दथ्यो। दैनिक प्रशासनिक कार्यालय नभए पनि भेटघाट र कुराकानीको केन्द्र भएकै कारण यसलाई तत्कालीन इलाका सदरमुकाम को रूपमा विकास गरिएको मानिन्छ। पञ्चायतकालमा यो क्षेत्र विम्कोटे राजाहरूको क्रीडास्थलको केन्द्र थियो जहा विम्कोटे राजाहरूले शासन गर्थे । ‘मेल्लेख भनेपछि जनता सोझा, ठाउँ विकट’ भन्ने रूढ गरिन्थ्यो। तर जनताको चेतना बढ्दै गएपछि २०४६ सालकोजनआन्दोलनपछि क्षेत्रलेआमुल परिवर्तन सफलतापूर्वक पालुवा पालाउन थाल्यो । मेल्लेखको राजनीतिक इतिहासले लामो सङ्घर्ष, जनचेतना र लोकतान्त्रिक अभ्यासले भरिएको छ।
विम्कोटे राजाहरूको प्रत्यक्ष प्रभाव र पञ्चायतकालमा ‘पकेट क्षेत्र’ का रूपमा प्रयोग हुँदै आएको यस भूभागमा २०४६ सालको जनआन्दोलनपछि जनताले आफ्नो मताधिकारको सचेत प्रयोग गर्न थाले। २०४९ र २०५४ सालका स्थानीय निर्वाचनहरूले यहाँ राजनीतिक परिवर्तन र जनसहभागिताको नयाँ अध्याय सुरु गरे। २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनले पनि मेल्लेखमा लोकतान्त्रिक प्रतिस्पर्धा, जनमतको सम्मान र राजनीतिक परिपक्वताको स्पष्ट संकेत दिएको थियो। यस क्षेत्रबाट राष्ट्रिय तथा प्रदेश तहमा प्रभावशाली नेतृत्व उदय भएका छन्, जसले मेल्लेखको राजनीतिक चेतना र नेतृत्व क्षमताको सिमित उजागर गरे तर आवस्यता अनुसार पुरा गरेनन । हाल पनि विभिन्न राजनीतिक दलहरूको सक्रिय सहभागिताबीच जनप्रतिनिधिमार्फत विकास, सामाजिक परिवर्तन र लोकतान्त्रिक अभ्यासलाई अझ बलियो बनाउने प्रयास भइरहेको छ। नेकपा एमाले र नेपाली काँग्रेसले परिवर्तनको विगुल निर्वाचन मार्फत फुके र नेपालमा माओवादी जनयुद्धको सुरुवात २०५२ साल फागुन १ गते (१३ फेब्रुअरी १९९६) भएको थियो । तत्कालीन नेकपा (माओवादी) ले राजतन्त्रको अन्त्य र नयाँ जनवादी गणतन्त्र स्थापनाको लक्ष्यसहित सशस्त्र संघर्षको घोषणा गरेको थियो जनयुद्ध पनि मेल्लेखको परिवर्तनको एउटा कोशेढुंगा हो । त्यो एउटा युग थियो अब नयाँ युग सुरु भएको छ अब को युग भनेको मेटा,आटिफिसिएल्,ईन्टेलीजेन्सीर र Quantum computing,space science and research को हो। अन्ततः वि.सं. २०७३ फाल्गुन २२ मन्त्रिपरिषद् निर्णय अनुसार साविकका विभिन्न गाविसहरू (ऋषिदह, ठाँटी, कुस्कोट, विन्धेवासिनी, शोडषादेवी, नन्देगडा, हात्तिकोट) गाभेर हालको मेल्लेख गाउँपालिका गठन भयो।
समय संग संगै हरेक कालखण्ड परिवर्तनशील छ ।२०८२साल५ महिना २४ गते भएको जेन–जी आन्दोलन सामाजिक सञ्जालको उदयसँगै हुर्किएको नयाँ पुस्ताका युवाहरूले वाक् स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा गरेको आन्दोलन भयो । यस आन्दोलनका क्रममा ठूलो मानवीय तथा आर्थिक क्षति भयो, धेरै मानिसको मृत्यु र सयौँ घाइते भए, सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोडका घटना भए। यसले नयाँ पुस्ताको असन्तुष्टि, राज्यको दमन, राजनीतिक नेतृत्वको आलोचना तथा देशमा सुशासन, अभिव्यक्ति स्वतन्त्रता र युवाको नेतृत्वको आवश्यकता भन्ने मुख्य नारा सहित युवाले विद्रह गरे नयाँ नेपाललको रचना युवाले नै गर्ने हो जहा पुरानो अनुभाको सुपर कम्पोजिसन गर्ने हो । समय संगै हाम्रो पालिकाले परिवर्तन खोजेको त छैन ? अब मनन गर्ने कि ?…
मेल्लेख गाउँपालिका भौगोलिक दृष्टिले अत्यन्त विविधताले भरिपूर्ण छ। यसको उचाइ ६६० मिटर (हात्तिकोटको बुढीगङ्गा किनार) देखि २,३१२ मिटर (ऋषिदहको ऋषि देवता थान) सम्म फैलिएको छ। वडा नं. १ र २ ऋषिदह मेल्लेखको पूर्व तथा उत्तर–पूर्वमा पर्दछन्, जबकि वडा नं. ३ ठाँटी, वडा नं. ४ कुस्कोट, वडा नं. ५ विन्धेवासिनी, वडा नं. ६ शोडशादेवी, वडा नं. ७ नन्देगडा र वडा नं. ८ हात्तिकोट रहेका छन्। प्रमुख नदीहरूमा बुढीगङ्गा, कासागाड, सरानीगाड र विम्कोटीगाड पर्दछन्। यिनै जलस्रोतबाट कासागाड लघुजल विद्युत् (९२ किलोवाट), सरानीगाडबाट ३०–३३ किलोवाट उत्पादन भइरहेका छन्। कुस्कोट वडाको ‘तीन सुर्जे गाउँ’ (ओडगाउँ, सेलगाउँ) मा दिनमा तीन पटक सूर्य उदाएजस्तो र अस्ताएजस्तो हुने अद्भुत बैज्ञानिक घटना देखिन्छ, जुन यस क्षेत्रको अनुपम प्राकृतिक पहिचान हो। यहाँ बेंसी क्षेत्र (१२०० मिटरमुनी), न्यानो समशीतोष्ण हावापानी (१२००–२१०० मिटर) र ठण्डा शीतोष्ण हावापानी (२१००–३३०० मिटर) तीनै प्रकारका हावापानी अनुभव गर्न सकिन्छ।
मेल्लेख गाउँपालिकाका सबै वडामा केहि सामाजिक रूपान्तरण भएको छ।जस्तै छाउपडी प्रथा पूर्ण रूपमा अन्त्य गरिएको छ। सबै वडालाई खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिएको छ। केही वडामा धूम्रपानरहित क्षेत्र को अवधारणा पनि कार्यान्वयनमा छ। धार्मिक एवं सांस्कृतिक महत्त्वको दृष्टिले यहाँ ऋषिदह ताल, नन्दामाता मन्दिर, बडिमालिका (पद्मार्ग), विल्थम (विन्द्रावासिनी), देउमाण्डु र वर्दादेवी जस्ता स्थलहरू अत्यन्त महत्त्वपूर्ण छन्। पर्वहरूमा सेलगाउँको चैतालो मेला, नन्देगडाको अनन्ते मेला, देउडा गीत, भारी खेल, न्याउले खेल, होली, माघे संक्रान्ति सबै जातजाति मिलेर मनाउछन्। सामाजिक आन्दोलनमा महिला, युवा, विद्यार्थी, शिक्षक, कर्मचारी र सामाजिक कार्यकर्ताको सक्रिय सहभागिता रहँदै आएको छ। विन्धेवासिनी वडामा अझै पनि वित्तीय कारोबारका लागि साँफे–मङ्गलसेन धाउनुपर्ने बाध्यता कायमै छ, तर पहिलेजस्तो नुन बोकेर खानुपर्ने यात्राका दिनहरू भने अन्त्य भइसकेका छन्।
शिक्षाको क्षेत्रमा मेल्लेख गाउँपालिकाले पछिल्ला समयमा खस्कदो अवस्थामा छ” अब प्रगति हासिल गर्न के गर्न सकिन्छ यो भने बहसको पाटो बनेको छ। गाउँपालिकाका विभिन्न वडाहरूमा माध्यमिक, उच्च माध्यमिक, स्नातक तथा प्राविधिक शिक्षाका अवसर विस्तार हुँदै गएका छन् तर खस्किदो अवस्थामा छन् , जसले स्थानीय विद्यार्थीलाई गाउँमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गरे ता पनि दक्ष जनशक्ति को अवाब रहेको छ । विशेषगरी प्राविधिक शिक्षा अन्तर्गत इन्जिनियरिङजस्ता कार्यक्रम सञ्चालन हुनु ग्रामीण क्षेत्रमा सीपमूलक र रोजगारमुखी शिक्षाको महत्वपूर्ण उपलब्धि मानिन्छ तर केहि सुधार गर्नु पर्ने छ । स्थानीय नेतृत्व, शिक्षा प्रेमी व्यक्तित्व तथा समुदायको सक्रिय पहलले शैक्षिक पूर्वाधार विस्तार, उच्च तहका कक्षा सञ्चालन र प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुगेको छ। यद्यपि केही विषयमा उच्च शिक्षा हासिल गर्न अझै गाउँपालिका बाहिर जानुपर्ने अवस्था कायम रहेको विद्यालय जाने बालबालिकाको संख्या घढ्दो छ, शैक्षिक पहुँच विस्तार भएको छ तर प्राविधिक तथा गुणस्तरीय शिक्षाप्रति विद्यार्थीहरूको आकर्षण निरन्तर वृद्धि हुँदा हुदै पनि केहि सुधार आवश्यक देखिन्छ , आदि शिक्षा क्षेत्रमा परिवर्तन गर्न सके जसले मेल्लेखको शैक्षिक भविष्यलाई अझ उज्यालो बनाउने छ।
मेल्लेखका अधिकांश जनताको मुख्य पेशा कृषि हो। यहाँ धान, गहुँ, कोदो, मकै, जौ, आलु, तोरी उत्पादन हुन्छ। विशेषगरी आलु, घिउ र मह को उत्पादन जिल्लाभर नै प्रख्यात छ। तथापि पर्याप्त सिँचाइको अभाव, परम्परागत कृषि प्रणाली र अधिकांश जमिन उत्तरी मोहडामा हुँदा उत्पादन आफैं उपभोगको लागि मात्र पर्याप्त छ। जलविद्युत् क्षेत्रमा कासागाड (९२ किलोवाट), सरानीगाड (३० किलोवाट) र विन्धेवासिनीका दुई योजनाहरू (३२+३३ किलोवाट) घरेलु उपयोगमा सफल छन्। सबैभन्दा ठूलो सम्भावना भनेको बुढीगङ्गा २० मेगावाट जलविद्युत् परियोजना हो, जुन राष्ट्रिय गौरवको योजनाका रूपमा कुवेत–साउदी कोषबाट निर्माणको चरणमा छ। यसले स्थानीय रोजगारी सिर्जना र औद्योगिकीकरणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। तर बैंकिङ पहुँच अत्यन्त सीमित छ। प्रायः वासिन्दा साँफे वा मङ्गलसेन नै धाउनुपर्ने बाध्यता छ।
मेल्लेख गाउँपालिकाको समग्र विकासलाई अझ प्रभावकारी बनाउन सडक सञ्जालको स्तरोन्नति तथा वर्षायाममा पनि सञ्चालन हुने दिगो सडक निर्माणमा प्राथमिकता दिनु आवश्यक छ। दुर्गम क्षेत्रमा मोबाइल टावर विस्तार गरी सञ्चार पहुँचलाई पूर्ण बनाउनुपर्ने देखिन्छ। स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्था गरी प्राथमिक स्वास्थ्य केन्द्र, उपस्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्छ। स्थानीय स्तरमै बैंकिङ तथा वित्तीय सेवा विस्तार गरी नागरिकलाई सहजरूपमा आर्थिक सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता छ। साथै विद्युत् पहुँचलाई थप व्यवस्थित गर्दै कृषि, पर्यटन, साना उद्योग र उद्यमशीलतासँग जोडेर रोजगारी सिर्जना गर्न सके मेल्लेख गाउँपालिकाको समग्र आर्थिक तथा सामाजिक विकास अझ दिगो र प्रभावकारी बन्न सक्छ।
मेल्लेख गाउँपालिकामा विकास र समृद्धिका प्रचुर सम्भावनाहरू रहेका छन्। ऊर्जा क्षेत्रतर्फ बुढीगङ्गा २० मेगावाट जलविद्युत् परियोजनाले यस क्षेत्रलाई भविष्यमा ऊर्जा हबका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ भने पर्यटनका दृष्टिले ऋषिदह ताल, नन्दामाता मन्दिर, तीन सुर्जे गाउँ, देउमाण्डु, चुलिकोटबाट देखिने मनोरम हिमशृङ्खला तथा यहाँका मौलिक मेला–पर्वहरूले आकर्षक पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेका छन्। कृषि क्षेत्रमा जैविक आलु, घिउ, मह, सुन्तला र आँपजस्ता स्थानीय उत्पादनको प्याकेजिङ, चिस्यान केन्द्र तथा प्रशोधन उद्योग स्थापना गरेर कृषि व्यावसायीकरणलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ। त्यसैगरी प्राविधिक शिक्षा क्षेत्रमा सुरु भएको डिप्लोमा इन्जिनियरिङ कार्यक्रमको सफलतालाई आधार बनाएर कृषि, स्वास्थ्य तथा अन्य प्राविधिक विधा विस्तार गर्न सकिने सम्भावना पनि उत्तिकै बलियो छ। सडक पूर्वाधारतर्फ २० वर्षे जिल्ला सडक गुरुयोजनाले मेल्लेखलाई दीर्घकालीन यातायात सञ्जालसँग जोड्ने स्पष्ट मार्गचित्र दिएको छ। यी सबै सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबीच प्रभावकारी समन्वय हुन सके मेल्लेख गाउँपालिका सुदूरपश्चिमकै समृद्ध, आत्मनिर्भर र नमुना पालिकाको रूपमा स्थापित हुन सक्छ। मेल्लेख गाउँपालिका अब ‘विकटता र सोझापन’को परिभाषामा मात्र सीमित छैन।
आज मेल्लेखमा छाउपडीजस्तो कुप्रथा अन्त्यतर्फ उन्मुख छ, सडक पुगेको छ, मोबाइल सञ्चार विस्तार भएको छ, विद्युत् अधिकांश घरधुरीमा पुगेको छ र प्राविधिक शिक्षाको सुरुआत भएको छ। यद्यपि वर्षायाममा सडक अवरोध, केही क्षेत्रमा टावर अभाव तथा स्वास्थ्य संस्थाको पूर्ण सञ्चालनजस्ता चुनौतीहरू अझै समाधानको चरणमा छन्। यी समस्याहरूलाई दिगो पूर्वाधार विकास, सञ्चार विस्तार, गुणस्तरीय स्वास्थ्य सेवा र स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगमार्फत समाधान गर्न आवश्यक छ। मेल्लेख गाउँपालिकाको सबैभन्दा ठूलो शक्ति यहाँका जनताको गहिरो राजनीतिक, सामाजिक र परिवर्तनमुखी चेतना हो, त्यसैले यही चेतनालाई विकास, सुशासन र सामूहिक समृद्धिसँग जोड्न सकियो भने मेल्लेखको भविष्य अझ उज्ज्वल, समृद्ध र दिगो बन्ने निश्चित छ। “ समृद्ध, आत्मनिर्भर र उज्ज्वल भविष्यको नयाँ गन्तव्य हाम्रो मेल्लेख”









