अछाम:भ्रष्टाचार मुद्दामा अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदलाई विशेष अदालतले सफाई दिएको छ।
विशेष अदालतले गाउँपालिका अध्यक्ष साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे २४ न्यूज र नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्साललाई सफाइ दिएको हो।
अख्तियार गत चैत २५ मा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर थियो ।
आयोगले अध्यक्ष साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे २४ न्यूज र नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्साल विरुद्ध १२ लाख ७७ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना गरेको भन्दै मुद्दा गरेको थियोे ।
मंगलबार विशेष अदालतले अध्यक्ष साउदसहित चारैजनाविरुद्ध लगाइएका सबै आरोपमा उनीहरू निर्दोष रहेको ठहर गरेको हो। ‘नखाएको विष लाग्दैन,’ अध्यक्ष साउदले भने, ‘यो दुःख दिने नियत मात्रै थियो । यस्ता सबै षड्यन्त्रमा सधैँ सत्यको जित हुन्छ ।’
उनले सबै काम नियमभित्र रहेर गरिएको दाबी गर्दै अदालतले निष्पक्ष रूपमा अध्ययन गरेर फैसला गरेको बताए। न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले फैसला गरेको यो मुद्दाको पूर्णपाठ भने आउन बाँकी छ।









