धनगढी : सेती राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न सिफारिस गरिएको छ। भारत र तिब्बतको सीमासम्म जोड्ने लक्ष्यसहित निर्माणाधीन उक्त राजमार्गलाई राष्ट्रिय गौरवको सूचीमा राख्न सेती राजमार्गको दक्षिण खण्ड कार्यालय अछामले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ।
सुदूरपश्चिम प्रदेशका पाँच जिल्लालाई जोड्ने यो राजमार्गलाई आर्थिक समृद्धि, व्यापार विस्तार तथा पर्यटन विकासको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। आयोजना राष्ट्रिय गौरवमा समावेश भए निर्माण कार्यले तीव्रता पाउने, पर्याप्त बजेट सुनिश्चित हुने र सरकारी प्राथमिकता प्राप्त हुने अपेक्षा गरिएको छ।
कार्यालयका अनुसार हाल राजमार्गका विभिन्न खण्डमा ट्र्याक खोल्ने तथा स्तरोन्नति गर्ने कार्य भइरहेको छ। तर निर्माण कार्यमा भौगोलिक कठिनाइ र बजेट अभाव प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
यसैबीच सुदूरपश्चिम प्रदेश सभा सदस्य केपी खनालले सेती राजमार्ग सुदूरपश्चिमको विकासको मेरुदण्ड बन्न सक्ने बताएका छन्। उनले सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिए क्षेत्रीय विकास, व्यापारिक पहुँच विस्तार तथा पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने धारणा राखे।
खनालले सरकारले आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार राजमार्ग निर्माण सम्पन्न भए सुदूरपश्चिमका दुर्गम क्षेत्रका नागरिकलाई यातायातमा सहजता हुने, स्थानीय उत्पादनले सहज बजार पाउने तथा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।









