टीकापुर :कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव एक साता बित्दा पनि शव उठेको छैन । पोस्टमार्टमपछि उनको शव अस्पतालमै छ । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाएका छैनन् ।
अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव ३ दिनपछि घटनास्थलबाट उठाइएको थियो । दोषी पक्राउ नपरेसम्म बनबाट शव उठाउन नदिने भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन् । पीडित परिवार, स्थानीय, प्रहरी प्रशासन र विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनीधिबीचको छलफलपछि ३ दिनपछि उठाइएको शव टीकापुर अस्पतालमा पोस्टमार्टमपछि अस्पतालमै राखिएको छ ।
अर्जुन दासको हत्याको विरोधमा कैलालीको लम्कीमा शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरियो । दोषीलाई पक्राउ गरी कारबाही गर्न दबाब दिन राजमार्ग अवरुद्ध पारेको मृतक अर्जुनका आफन्तले बताएका छन् । अर्जुन दासको हत्याको विरुद्ध संघर्ष समितिका संयोजक ललित परियारले राजमार्ग शुक्रबार साझ ४ बजेसम्म र अवरुद्ध गरिएको हो ।
अपराधीलाई आजीवन कारावासको सजाय हुनुपर्ने, मृतक अर्जुन दासलाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, पीडितका बालबालिकालाई उच्च शिक्षाको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र अमरावती सामुदायिक बनमा १० कट्ठा जग्गा छुट्याई अर्जुनको सालिक निर्माण गर्नुपर्नेर्लगायतका आफूहरूको माग रहेको संघर्ष समितिका संयोजक परियारले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनामा संलग्नहरूको पहिचान भइसकेका र उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न आफूहरू लागिपरेको बताए ।









