काठमाडौं । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलका समर्थक र प्रस्ताव दुवैजना सुदूरपश्चिमका छन् । रावलका प्रस्ताव महादेव बजगाई कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन् ।
जिल्लामा महाधिवेशन प्रतिनिधि चयन हुन नसकेपछि केन्द्रीय कमिटीबाट मनोनित कोटामा परेका बजगाई एमाले सांसद तथा केन्द्रीय सदस्य झपट रावलको निर्वाचन क्षेत्रका उनी निकट नेता हुन् ।
एमाले प्रदेश कमिटी सदस्य समेत रहेका बजगाई जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसकेपछि उनले १२ सय संगठित सदस्यको तर्फबाट उजुरी दिएका थिए । रावलको अध्यक्ष पदको उम्मेदवारीमा उनी प्रस्तावक बसेका छन् ।
त्यस्तै रावलको समर्थक बसेकी दुधकला विष्ट एमालेको अछाम जिल्लाकी नेता हुन् । साँफेबगर नगरपालिकाको उपमेयरमा सिफारिस भए पनि उनले टिकट पाउन सकेकी थिइनन् ।
उनी रावलको वडा एउटै हो। रावलको अछामको घर बिष्टको घर तल माथिको टोल हो। साफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरबाट महाधिवेशन प्रतिनिधि बनेर आएदेखि उनी रावलको प्रचार प्रसारमा थिइन् । एमालेका निर्वाचित रावल निकट मेयर कुलवहादुर कुँवरसहितका नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।