Advertisement
SKIP THIS
अछामका स्थानिय तहले कटौती गरे दशैँ बिदा

अछाम : अछामका विभिन्न स्थानीय तहहरुले दशैँ र तिहारमा हुने विद्यालय बिदाको समय कम गर्ने निर्णय गरिरहेका छन् । कोरोना महामारीका कारण पठनपाठन अबरुद्ध भएको भन्दै विगतमा हुने बिदाको तुलनामा बिदा कटौति गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको पालिकाहरुले जनाएका छन् ।

जिल्लाका विभिन्न पालिकाहरुले गाउँ–नगर कार्यापालिका तथा गाउँ÷नगर शिक्षा समितिबाट निर्णय गराई विद्यालय पठनपाठनको समय निर्धारण गरेका छन् ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले असोज २१ गतेदेखि कात्तिक ३ गतेसम्म बिदा दिने निर्णय गरेको छ । दशैँको बेला असोज २१ गते घटस्थापना देखि कात्तिक ३ गतेसम्म विद्यालय बिदा हुने र तिहारको बेला नेपाल सरकारको राजपत्रमा उल्लेखित बिदा बाहेक अन्य दिन बिदा नहुने निर्णय गरिएको पालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र जोशीले बताए।

असोज ११ गतेको गाउँ शिक्षा समितिको निर्णय अनुसार सबै विद्यालयलाई जानकारी गराईएको उनले बताए ।

यस्तै जिल्लाको चौरपाटी चौरपाटी गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय कातिक १ गते सम्म मात्र वन्द हुने गाउँपालकाले जनाएको छ ।

गाउपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले घटस्थपना देखि कातिक १ गतेसम्म मात्र विद्यालय वन्द गर्न विद्यालयलाई निर्देशन गरेको छ ।

जिल्लाको कमलबजार नगरपालिकाले कोरोना महामारीपछि विद्यालय सञ्चालन गर्ने बेला नै दशैँमा ५ दिन र तिहारमा ४ दिन गरी ९ दिन मात्रै बिदा दिने निर्णय गरिसकेको छ भने अन्य पालिकाले पनि दशैँ तिहारमा विद्यालय कति बिदा दिने भन्ने निर्णय गरिरहेका छन् ।

जिल्लाका अन्य स्थानीय तहले पनि शिक्षा समिति तथा कार्यपालिका बैठकबाट विद्यालयको हकमा दशैँतिहारको बिदाबारे निर्णय गर्ने तयारी थालेका छन् ।

तपाईको प्रतिक्रिया