डण्डीराज भट्ट अछाम: अछामको साँफेबगरलाई नयाँ शहर बनाउने योजना कछुवाको गतिमा छ । बिश्व बैकको अनुदानमा नेपाल सरकारले २०६८र६९ सालमा देशका १० ओटा नमूना शहर मध्ये अछामको साँफेबगरलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो । पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएको थियो ।

तर नया शहर निर्माणको काम भने अपेक्षा गरे अनुसार अघि बढ्न सकेको छैन । अछाममा नयाँ शहर आयोजना कार्यालयको स्थापना भएको पनि करिब १० बर्ष वित्न लाग्यो । १ वर्षे तथा बहुवर्षे योजनाका बर्षैपिच्छे दर्जनौ योजनाका ठेक्का सम्झौता गरि काम थालेपनि काम सम्पन्न हुन सकेका छैनन् । नया शहर आयोजनाले विगत ४ वर्ष देखि जग्गा एकिकरणको काम सुरु गरि जग्गा रोक्का गरेको छ । अहिले सम्म काम सम्पन्न नहुदा स्थानियमा निराशा छाएको छ । आयोजनाले काममा ढिलासुस्ती र लापरबाहिले काम सम्मन्न नहुदा जग्गा फुकवा नहुदा जग्गा उपभोग गर्न र बैङ्किङ कारोवार गर्न नपाएको स्थानिय बताउछन् ।
आयोजनाका कामहरुको अनुगमन तथा निरिक्षण नगर विकास समितिले गर्ने व्यवस्था रहेको छ । मुलुक संघियतामा गईसकेपछि स्थानिय सरकारको प्रमुख व्यक्ति नगर प्रमुख नगर विकास समितिको अध्यक्ष हुने व्यवस्था छ । तर साँफेबगर नगरपालिकाले नयाँ शहर आयोजना कार्यालय अन्तरगतका योजनाहरुका काममा भएको ढिलासुस्ती र लापरबाही मा चासो देखाएको छैन । बहुवर्षिय सडक तथा अन्य योजनाहरुमा ठेकेदार कम्पनिले पटक पटक म्याद थप गरेर पनि काम सम्पन्न गर्न नसक्दा स्थानियमा निरासा छाएको हो ।
नयाँ शहर आयोजना कार्यालय अहिले सम्म साना साना योजनाका कामहरुमा रुमल्लिन थालेको छ । अहिलेसम्म बजारमा सौर्य बत्ती जडान, शबदाह गृह निर्माण, बजार क्षेत्रमा नाली निमार्ण, साफे एयरपोर्ट बजारको सडक निमार्ण, जनकल्याण देखि एरपोर्ट बजारसम्म सडक निमार्ण को काममा रुमल्लिरहेको छ । बहुउदेश्यीय हल, खेलमैदान, सपिङ कम्पलेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्क जस्ता ठुला योजनाहरुको कामको अहिलेसम्म सुरुवात नै हुन सकेको छैन । आयोजना प्रमुखले सक्रीयता नदेखाउदा र साफेबगर नगरपालिकाले कामको सहजिकरण गर्न नसक्दा आयोजनाका काममा ढिलासुस्ती भएको स्थानियको आरोप छ ।
नया शहर आयोजना कार्यालयमा आएका कर्मचारी कार्यालयमा बस्नै मान्दैनन् । कार्यालयमा आएको १ महिना नपुग्दै सरुवा माग्न थालिहाल्छन् । १ जना कर्मचारीलाई तीन चार जिल्लाको जिम्मेवारी दिईएको हुदा नया शहर कार्यालय प्रमुख विहिन छ । कार्यालय प्रमुख कार्यालयमा आएको समयमा पनि कार्यालय प्रमुखले नगर प्रमुख संग कुनै किसिमको समन्वय नै नगरी काम थाल्ने र पछि काममा कुनै समस्या आयपछि जानकारी गराउने गरेको नगर प्रमुख बताउछन् ।









