दार्चुला:सुदूरपश्चिम प्रदेशको साउन महिना सुरु भए यहाँका जिल्लामा घरका झ्याल, ढोकामा काँडेदार रुखका हाँगा राख्ने चलन रहेको छ। काँडेदार बिरुवालाई यहाको स्थानीय भाषमा ‘झिझिरकाँडा’भनिन्छ।
सुदुरका पहाडि जिल्लामा साउन १ गते अर्थात साउने संक्रान्तीका दिन राख्ने चलन छ। साउने संक्रान्तीसँगै देवीदेवता शिव भगवान्को बासस्थान मानिने कैलाश जाने भएकाले सुरक्षाका लागि यहाँ स्थानीयहरुले झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन छ।
नर अथवा मानिसहरुको रक्षा गर्ने देवीदेवता साउन महिना सुरु भएसँगै कैलाश जाने विश्वास गरिन्छ। जसकारण साउन महिनाभरी राक्षसहरुको बिगबिगी बढ्ने भएकाले राक्षसबाट बच्न झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन रहेको विभिन्न क्षेत्रका हाम्रा सहकर्मीहरुले खबर पठाएका छन।‘
साउन महिनाभरी देवी देवता कैलाशतिर हुन्छन्, मानव बस्तीतिर राक्षसहरुको मनपरि चल्छ,, ‘घरभित्र नआउन भनेर झ्याल ढोकामा झिझिरकाँडा राख्ने परम्परा पहिले देखिनै चल्दै आएको छ। साउन महिना मानिसहरु देवी–देवताको साहारा बिना बस्नु परेकाले पनि विभिन्न घट्नाहरु हुने भन्दै असार मसान्तका दिन सस्र्यौं, कालोमास, गहत, जौं, तील जस्ता पञ्च नाजले परिवारका सबै सदस्यहरुको टाउकोमाथि घुमाएर बाहिर फाल्ने चलन समेत छ।
यसरी पाँच प्रकारका अन्नले टाउकोमाथि घुमाएर फालेपछि रोग ब्याधी, शरीरमा चोटपटक नलाग्ने जनविश्वास रहेको बताइएको छ। मानव बस्ती देबीदेवता बिहीन हुने भएकोले साउन महिनालाई कालो महिनाको रुपमा लिइने मालिकार्जुनका स्थानीय रबिन्द सिह धामीले बताए। कैलाशमा देवीदेवता र राक्षसहरुले पासा अर्थात् जुवा खेल्ने गरेको जन विश्वास छ। साउन महिनामा कैलाशमा गएर देवीदेवता एकातिर र अर्कोतिर राक्षसको समूहबीच पासा खेलमा प्रतिष्पर्धा हुने गरेको बुढापाकाहरुले बताउने गरेको छन्।
देवी देवताको विजय भएका मानव बस्तीहरुमा बाढी पहिरो, आतंक, महामारी जस्ता प्रकोपहरु कम हुने र राक्षसको विजय भएमा मानव बस्ती तथा प्रकृतिमा विभिन्न खालका समस्याहरु, बाढी पहिरोका घट्नाहरु धेरै हुन्छ भन्न जनविश्वास छ। साउन १ गते कैलाश गएका देवी–देवताहरु भाद्र १ गते फर्किन्छन् भन्ने चलन सुदूरपश्मिेली समाजमा छ। भाद्र १ गतेका दिन देवीदेवता र राक्षसबीचको प्रतिस्पर्धाको नतिजा सुनाइन्छ। भाद्र १ गते धामी झाँक्रीहरुले कैलाशको यात्रा, राक्षससँगको प्रतिष्पर्धा के कस्तो भयो लगायतका १ महिने कैलाश बसाइका बारेमा भलाकुसारी गर्ने गरेको जनविश्वास छ।
पछिल्लो युवा पिढीँले पनि यो पर्वालाई मौलिक परम्पराका रुपमा आत्मसाथ गर्दै आएका छन्। जनविश्वास र समुदायको पहिचान भएकोले यो परम्परालाई निरन्तरता लिएको युवाहरुले बताउने गरेका छन्।










