धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र कृषि विकास निर्देशनालय दिपायलका कर्मचारीबीच विवाद भएको छ।
शनिबार काम गर्न नपाउने भन्दै मेयर हमाल र कृषि निर्देशनालयका कर्मचारीबीच विवाद उत्पन्न भएको हो। विवादपछि मेयर कर्णबहादुर हमालले अपशब्द प्रयोग गरेर गाली गर्दै कर्मचारीलाई कार्यालयबाटै लखेटेका छन्।
‘चोरहरु’ बाहिर जाउँ भन्दै मेयर हमालले आफुहरुलाई निकालेको निर्देशनालयका कृषि प्राविधिक जनक बहादुर सिंहले जानकारी दिए। शनिबार कृषि निर्देशनालयका कर्मचारी कृषि औजार वितरणका लागि किसानसँग सम्झौता गर्न कृष्णपुर आएका थिए।
‘कृषि निर्देशनालयले एक/एक समूह बनाएर मेसिनरी औजार वितरण कार्यक्रम अन्तर्गत मलाई काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको थियो’, सिंहले भने, ‘कृषि शाखासँग सहकार्य गरेर हामी यहाँ आएका हौ। काम सुरु मात्र गरेका थियौ। मेयर साप आउनु भयो। चोरहरु बाहिर निस्किनुस् भन्नु भयो। कार्यालय भित्र कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेको बेला मेयर साप आएर गाली गर्दै बाहिर पठाए।’
नगरपालिकालाई कार्यक्रमका बारेमा हप्ता दिन अगाडि नै जानकारी दिइसकेको सिंहले बताए। नगरपालिकाको कृषि शाखाले सूचना समेत टाँस गरेको थियो। सिंहले भने,‘मेयर सापले काम गर्न नदिएपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर निस्कियौँ।’ शुक्रबार कञ्चनपुरको बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडीमा किसानसँग सम्झौता गरिएको थियो।
शुक्रबार काम सम्पन्न नभएपछि शनिबार बिहान पनि कार्यक्रम राखिएको थियो। शनिबार कृष्णपुरका साथै भीमदत्त, शुक्लाफाँटा, बेदकोटमा सम्झौता सक्ने कार्यक्रम तय भएको प्राविधिक सिंहले जानकारी दिए।
मेसिनरी सामग्री सम्झौता कार्यक्रममा प्राविधिक सहायक सिंहको नेतृत्वमा चार जनाको टिम खटिएको थियो। निर्देशनालयले कञ्चनपुरमा एक सय ४६ जनालाई कृषि सामग्री वितरण गर्ने कार्यक्रम थियो भने कृष्णपुरमा १५ जनालाई वितरण गर्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए।
च्याम्फा ट्याक्टर, मिनी टिलर, रोटाभेटलगायतका औजार खरिदमा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि सेवा निर्देशनालयले अनुदान वितरणका लागि सम्झौता गर्न थालेको हो।
नगरप्रमुख हमाल केही दिन पहिले पनि कैलाली गोदावरीको एक होटलमा निषेधाज्ञाको समयमा राति मदिरा माग्दै होटल सञ्चालकलाई धम्काएको भन्दै विवादमा तानिएका थिए। यसबारेमा मेयर हमालसँग बुझ्न खोज्दा उनले फोन उठाएनन्।