कञ्चनपुर:कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीबाट प्रहरीले ठूलो मात्रामा केराउ बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरी र आरआइटीको संयुक्त टोलीले बेलौरी नगरपालिका वडा नम्बर २ बाट बेवारिसे अवस्थामा रहेका तीन ओटा ट्रलीमा भरिएको अन्दाजी ६५० बोरा बढी केराउ बिहीबार बिहान बरामद गरेको हो ।
बिहीबार साँझ हुँदासम्म उक्त केराउ कसले के प्रयोजनको लागि ल्याएको हो भन्ने विषयमा कुनै दाबी नआएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको करिब ३२५ क्विन्टल हुन आउने उक्त केराउ, तीन ओटा ट्रली र दुई ओटा ट्र्याक्टर समेतको मूल्य रु. ३० लाख ८५ हजार बिगो कायम गरी बिहीबार साँझ मात्रै आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय चलान गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।
बिहानै बरामद गरिएको भएपनि प्रारम्भिक अनुसन्धानसँगै भन्सार पठाउने बन्दोबस्तका लागि घटनास्थल मुचुल्का, बरामदी मुचुल्का, बरामद गरेको प्रहरी प्रतिवेदन, आवश्यक कागजात तयार गर्ने कार्य र सवारी चालकको खोजी लगायतका गतिविधिमा समय लागेकोले बिहीबार साँझ मात्रै भन्सार चलान गरिएको उहाँको भनाइ छ ।