धनगढी: सुदूरपश्चिमका ओली समूहका सांसदहरुले प्रदेश सरकार बोझ भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभामा बोल्दै सत्तारुढ दल नेकपा एमाले ओली समूहका सांसद रतनबहादुर थापाले शुक्रबार नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा प्रदेश सरकार बोझ भएको टिप्पणी गरेका हुन् ।
संघीयतामा प्रदेश सरकार बोझ भएको भन्ने सबैको गुनासो रहेका बेला सुदूरपशिचम प्रदेश सरकार एक नम्बर बोझ भएको बताए । उनले वर्तमान सरकाबाट कुनै पनि राम्रो काम नभएको टिप्पणी समेत गरे ।
सुदूरपश्चिम प्रदेशसभामा आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलका क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका सांसदहरु लचक देखिएपनि सत्ता साझेदार दल नेकपा एमालेमा अध्यक्ष केपी ओली निकट सांसदहरुले नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका हुन् ।
एमालेकै ओली निकट अर्का सांसद लिलाधर भट्टले पनि प्रदेश सरकोरको आलोचना गरे । उनले हरेक निर्वाचन क्षेत्रमा २५ शय्याको अस्पताल निर्माण गर्ने कुरा हास्यास्पद भएको बताए । संकट पर्दा त दुई वर्षसम्म १० शय्याको अस्पताल बनाउन नसक्ने सरकारले २५ बेडको अस्पताल बनाउने भन्दा गजब लागेको उनले बताए ।