अछाम: स्थापना भएको ४६ वर्षपछि जिल्ला अस्पताल अछामले विशेषज्ञ चिकित्सक (एमडिजीपी) पाएको छ।
अस्पतालमा विशेषज्ञ चिकित्सकका रुपमा पहिलो पटक डाक्टर सोनाली बास्कोटा आएकी छिन्। सरकारी कोटाबाट छात्रबृत्तिमा एमडिजिपी सकाएका डा. बास्कोटाले २ वर्षे कार्य क्षेत्रका रुपमा अछामलाई रोजेकी छिन्।
२०२८ सालमा हेल्थ सेन्टरको रुपमा सेवा सुरु गरेको अस्पताल २०३४ सालमा मात्रै जिल्ला अस्पतालका रुपमा परिणत भएको थियो। त्यसयता अस्पतालमा मेडिकल अधिकृतका रुपमा डाक्टर अस्पतालमा आएपनि अधिकृत भन्दा माथिल्लो स्तरको डाक्टर अस्पतालले पाउन सकेको थिएन।
विशेषज्ञ चिकित्सक आएपछि अस्पतालको सेवामा धेरै परिवर्तन हुने विश्वास त्यहाँका स्थानीयले लिएका छन्।
१५ शय्याको स्वीकृति रहेको जिल्ला अस्पतालमा डा. बास्कोटासहित अहिले ६ जना चिकित्सक कार्यरत छन्।