धनगढी:कैलालीमा निषेधाज्ञामा खटिएका प्रहरीले मेयरलाई नचिन्दा धम्की खानु परेको छ । कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरीलाई सोही नगरपालिकाका प्रमुख महादेव बजगाईंले हकारेका हुन्।
बुधबार बेलुका ६ बजेतिर लम्की चुहा नगरपालिकाको मोतिपुरमा खुला रहेका पसलहरुलाई बन्द गराउने क्रममा ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक रेवन्त बोहरालाई नगर प्रमुख महादेव बजगाईंले हपारेर कालोमोसो लगाउने धम्की दिएका थिए।
त्यस क्षेत्रमा रहेको एउटा मोबाइल पसल सधैं खुला रहने गरेको गुनासोपछि त्यहाँ पुगेको प्रहरी टोलीले पसल बन्द गराउन खोज्दा मेयर बजगाईंले प्रहरीलाई हप्काएका थिए। मेयरले आफू भएको ठाउँमै आफ्नो महत्व नदिएकोले प्रहरीलाई आक्रोश पोखेको बुझिएको छ। त्यहाँ मेयर रहेको र मेयरसँग प्रहरीको विवाद भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालयका ईन्चार्जले प्रहरी टोलीलाई ‘ब्याक’ गराएका थिए।
त्यतिमात्र होइन प्रहरीप्रति आक्रोशित मेयरले प्रहरीको मापसेसमेत चेक गर्न लगाए। स्थानीय अस्पतालमै चेक गर्दा मदिरा सेवन गरेको नदेखिए पनि मेयरले प्रहरीले मदिरा सेवन नै गरेको दावी गरेपछि ती प्रहरीलाई परीक्षणका लागि टीकापुर अस्पतालमा लगिएको थियो तर त्यहाँ परीक्षण गर्दा पनि रिपोर्ट मदिरा सेवन नगरेकोआएको थियो।
उनले भने, ‘मेयर साप सधैं प्रहरीलाई सहयोग गर्ने मान्छे हो तर त्यहाँ किन रिसाउनु भयो थाहा भएन।’ त्यो क्षेत्रमा एउटा मोबाइल पसल सधैं खुला हुन्छ भन्ने गुनासोपछि प्रहरी टोली त्यहाँ गएको उनले बताए। त्यस घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयबाट छानविन टोलीसमेत गठन गरिएको प्रहरी निरीक्षक शाहले बताए। नगरप्रमुख बजगाईंले प्रहरीको व्यवहार देखेर आफूलाई रिस उठेको दावी गरे। उनले निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन गर्न आफूले पनि अपिल गरिरहेको तर प्रहरीको शैली राम्रो नभएकाले विवाद भएको बताए।