Advertisement
SKIP THIS
औषधि र खानेकुरा लिएर कोरोना संक्रमितको घरदैलोमा साँफेबगर प्रमुख कुँवर

कल्पना बोहरा अछाम: कोरोना संक्रमितको मनोबल उच्च बनाउनका लागि साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले रचनात्मक अभियानको थालिनी गरेका छन्।

आफ्नो नगपालिकाका संक्रमितलाई भेट्न नगर प्रमुख कुँवर औषधि र केही खानेकुरा लिएर घरदैलोमा जान थाल्नुभएको छ । कतिपय संक्रमित अस्पतालमा शैया अभावमा घरमै आइसोलेशनमा छट्पटाई रहेका छन् । नगर प्रमुख कुँवरले स्वास्थ्यकर्मी सहित घरघरमै गएर संक्रमितहरुको मनोबल उच्च बनाउने काम गरेका छन् ।

उनले कोरोना संक्रमितको उपचार भन्दा पनि धेरै मनोवल कमजोर भएका कारण समस्या देखिएको भन्दै घरघरमै पुगेको बताए ।मंगलबार साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथमा कोरोना संक्रमणका होम आईशोलेसमा बसेका परिवारलाई भेटघाट गर्नुभएको हो । उनले कोरोना संक्रमणबाट बच्नको लागि वडाबासीलाई सजक रहन पनि आग्रह
गरे।

घरमै आइसोलेशनमा बसेका संक्रमितलाई थप केही समस्या भएमा खवर गर्न आग्रह गर्नुभएको छ । घरघरमै आएर कोरोना संक्रमितको मनोवल उच्च बनाउने नगर प्रमुख काम प्रशंसनीय भएको वैजनाथका स्थानीय डण्डिराज जोशीको भनाई रहेको छ । उहाँले कोरोना संक्रमणका कारण पुरै परिवार थला परेको अवस्थामा नगर प्रमुख घरमै आएर सान्तवना दिएका कारण कोरोना भाईरस जितको महसुस भएको प्रतिक्रिया दिए ।

भेटघाटमा साँफेबगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष अमर शाह, साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प वुढा, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो ।

यस्तै नगर प्रमुख कुँवर वैजनाथका संक्रमितलाई भेटे लगतै वयलपाटा अस्पतालमा उपचारर्थ कोरोना संक्रमित सँग पनि भेटघाट गर्नुका साथै वयलपटा अस्पताल अस्पतालको अवस्थाका वारेमा बुझेका छन् । वयलपाटा अस्पतलमा उपचारर्थ कोरोना संक्रमितलाई उच्च मनोवल बनाउन सुझाव दिए।

उनले नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग हुने प्रतिवद्धता जनाउनुभएको छ । वयलपटा अस्पताल तत्काल देखिएको समस्याका वारेमा मेडिकल निर्देशक डा. मन्दिप पाठकसँग जानकारी लिए। मेडिकल निर्देशक डा. पाठकले वयलपाटा अस्पतालको सहयोगमा कोरोना संक्रमितको उपचारमा अहिले सहज भएको धारणा व्यक्त गरे।

उनले तत्काल अहिले अस्पतालको सिटामोलको समस्या रहेको वारेमा नगर प्रमुख कुँवरलाई जानकारी गराए । नगर प्रमुख कुँवरले बुधबार वयलपाटा अस्पतालाई औषधी उपलब्ध गराउने नगर प्रमुख कुँवरले जानकारी दिए।यस्तै उनले अन्य आवश्यक थप स्वास्थ्य सामग्रीको लागि पनि पहल गरे।

डा. पाठकले जिल्लाका सवै पालिका, वाजुरा र डोटीका केही पालिकाले अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता जनाएपनि साँफेबगर वाहेक कुनै पालिकाबाट सहयोग नआएको जानकारी दिए । प्रतिवद्धता अनुसार सहयोग नहुँदा अस्पताल सञ्चालनमा समस्या रहेको उनको भनाई रहेको छ ।

नगर प्रमुख कुँवरले नगरपालिकासँग यो वर्ष रकम नभएपनि उदारो स्वास्थ्य सामग्री ल्याएर भएपनि उपलब्ध गराउने पनि प्रतिवद्धता जनाउनुभएको छ । साँफेबगरमा कोरोना संक्रमतिको सख्या पनि बढ्दै गएको छ । साँफेबगर नगरपालिकामा ५८ महिला र ९६ जना पुरुष गरी १ सय ५४ जना कोरोना संक्रमित रहेका छन् भने चार जनाको कोरोना संक्रमणबाट ज्यान गईसकेको छ । 

तपाईको प्रतिक्रिया