डोटी:कोरोना महामारीको असर मुलुकको सुदूरपश्चिमी जिल्ला डोटीमा समेत डरलाग्दो रूपमा बढेको छ । दोस्रो लहरको कोरोना परीक्षणको वैशाख महिनाको तथ्यांकलाई विश्लेषण गर्दा कुल परीक्षण संख्याको ३९ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, डोटीले जानकारी दिएको छ ।
शुक्रबार गरिएको परीक्षणबाट डोटी जिल्लामा ६७ नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ९६ जनाको परीक्षण गर्दा ६४ अर्थात् झण्डै ६६ प्रतिशतमा संक्रमण देखिएको छ । यस्तै, पाँच जनाको एण्टिजेन परीक्षण गर्दा तीन अर्थात् झण्डै ६० प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, डोटीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । योसँगै डोटी जिल्लामा हालसम्म कुल संक्रमितको संख्या दुई हजार सात सय पुगेको छ ।
डोटीमा कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमण दर ह्वात्तै बढेको तथ्यांकहरूले देखाएका छ । डोटीमा २०७७ साल जेठ १९ गते पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतबाट फर्केर क्वारेन्टिनमा बसिरहेका शिखर नगरपालिका–३ का २२ वर्षीय एक युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टिनमा बसिरहेको बेला उनमा सामान्य स्वास्थ्य समस्या देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसयता कोरोनाको पहिलो लहरमा २०७७ साल चैत्र महिनासम्म डोटी जिल्लामा एक हजार चार सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीको तथ्यांकमा उल्लेख छ । सो अवधिमा पीसीआर विधिबाट १३ हजार एक सय ६० जनाको परीक्षण गरिएकोमा एक हजार चार सय एक जना अर्थात् १०.६४ प्रतिशतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै, सो अवधिमा एन्टिजेन विधिबाट एक हजार दुई सय ४८ जनाको परीक्षण गरिएकोमा २० जना (१.६० प्रतिशत) मा संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार गतवर्ष जेठदेखि चैत्र मसान्तसम्म पीसीआर र एन्टिजिन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको दर ९.८६ प्रतिशत रहेको थियो ।
जिल्लामा कोरोनाको दोस्रो लहरमा पहिलो संक्रमण गत वैशाख ५ गते देखिएको थियो । त्यसयता शुक्रबारसम्म अर्थात् २५ दिनको अवधिमा पीसीआर विधिबाट एक हजार १७ मा परीक्षण गर्दा चार सय ७८ मा र एण्टिजेन विधिबाट चार सय ७० मा परीक्षण गर्दा एक सय आठ गरी पाँच सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या वैशाखमा परीक्षण गरिएका एक हजार चार सय ८७ को ३९.४० प्रतिशत हुन आउँछ।