टीकापुर:कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिएपछि टीकापुरका मात्रै १७ जनाले ज्यान गुमाइसकेका छन् । दुई दिनमा मात्रै ८ जनाको ज्यान गएको छ । दोस्रो भेरियन्टपछि कैलालीको जानकी गाउँपालिकामा ४ जनाको मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ
संक्रमितमा जटिल समस्या देखिए उपचारका लागि टीकापुर अस्पतालमा १५ शैया र सिटी हलमा ३८ शैयाको आइसोलेशन वार्ड तयार गरिएको छ । टीकापुर अस्पतालमा शैया भरिएपछि ग्यालरीमा समेत विरामी राखेर उपचार भइरहेको छ । जम्मा १५ शैया रहेको टीकापुर अस्पतालमा श्वासप्रश्वासमा समस्या भएका र अक्सीजनको मात्रा कम भएका ४० बढी विरामीको उपचार भइरहेको छ ।
टीकापुर अस्पताल, टीकापुर सरोकार समूह, उद्योग वाणिज्य संघबीच कसरी नागरिक बचाउने भन्नेबारे छलफल भएको छ । टीकापुर अस्पतालसँग जम्मा १२४ अक्सिजन सिलिण्डर छन् । यी सिलिण्डर सुत्केरी वार्ड, इमरजेन्सीमा आउने अन्य विरामीका लागि पनि प्रयोग गर्नुपर्छ ।
‘‘अस्पताललाई दाताले दिएका ७ वटा भेण्टिलेटर सेट छ । जडान गरिसकेको अवस्था छ । आइसियु सोव सञ्चालनका लागि लामो समयदेखि एनेस्थेसिया डाक्टर माग गरे पनि सरकारले पठाएको छैन’’, अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललले भन्नुभयो, ‘‘आफ्नै आँखाअगाडी नागरिक मर्न थालेँ, मन पोलेको छ । संघीय सरकारमा जनप्रतिनिधि नहुँदाको पीडा टीकापुरले भोगीरहेको छ । हामीलाई सरकारले डाक्टर मात्र दिनुप¥यो । ५ दिनमा अन्य सबै स्रोत व्यवस्थापन गर्छौँ ।’’
अस्पतालले थप सय अक्सीजन सिलिण्डरको जोहो गर्नका लागि यहाँका नागरिक र व्यापारी र सरोकारवालालाई गुहारेको छ । अस्पतालमा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले अक्सिजन प्लान्ट स्थापनाका लागि रु ८० लाख विनियोजन गरेको छ । प्लान्ट स्थापना गर्न इ–टेण्डर भइसकेको छ । अस्पतालले अक्सिजन प्लान्टका लागि टेण्डर भइसकेकाले फिलर कम्प्रेसर उपलब्ध गराइ सहयोग गरिदिन दातालाई गुहारेको छ ।
अस्पतालमा जनशक्ति समेत अभाव छ । अस्पतालले एकजना डाक्टर रमेश उपाध्यायको नेतृत्वमा कोरोनाका विरामीको उपचार गरिरहेको छ । अन्य विशेषज्ञ डाक्टरले अन्य विरामी पनि हेर्नुपर्छ । टीकापुर अस्पतालमा दैनिक ५ सय जनासम्म विरामी सेवा लिन आउँथे । अस्पतालले वैशाख १६ गतेबाट बहिरंग सेवा बन्द गरेको छ ।
अत्यावश्यक सेवा सुचारु राखेको अस्पतालमा अहिले पनि विरामीको भीड उस्तै छ । टीकापुर अस्पतालमा कैलालीका टीकापुर सहित, भजनी, लम्कीचुहा नगरपालिका, जोशीपुर, जानकी गाउँपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नागरिक समेत सेवा लिन आउने गर्दछन् ।









