धनगढीः सुदूरपश्चिमको एकमात्र कोभिड अस्पताल सेतीमा कोभिड संक्रमितले भेन्टिलेटर नपाइएको गुनासो गरएको छ।
महाकाली अस्पतालबाट थप उपचारका लागि सेतीमा ल्याइएकी कञ्चनपुरको शुक्लाफँटा नगरपालिका वडा नम्बर १० झलारीकी कोरोना संक्रमित महिलालाई उपचार गर्न भेन्टिलेटर आवश्यक परेको तर सेतीमा भेन्टिलेटर नपाउँदा उपचारका लागि डडेल्धुरा अस्पताल जानु परेको संक्रमितका छोराले दिनेशखबरलाई बताए।
संक्रमित महिलाको बाह्य यात्रा विबरण नभएको बताइएको छ। उनको गत बैशाख ८ गते महाकाली अस्पतालमा कोरोना पुस्टि भएको र दुई दिन त्यहाँ उपचार गराएको अवस्था जटिल हुँदा थप उपचारको लागि सेतीमा ल्याइएको तर सेती अस्पतालमा भेन्टिलेटर खाली नहुँदा उपचार गराउन नसकिएको आफन्तले बताए।
तर सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमा श्रेष्ठले भने आफन्तको अनुरोधमा अस्पतालले बिरामीलाई डडेल्धुरा रेफर गरेको बताए।
कोभिड बिरामीको उपचारका लागि सेतीमा ५ ओटा भेन्टिलेटर छन्। यस्तै महाकाली अस्पतालमा ६ ओटा र डडेल्धुरा अस्पतालमा २ ओटा भेन्टिलेटर छन् भने प्रदेशभर कोभिड उपचारका लागि १९ ओटा भेन्टिलेटर मात्रै रहेको सरकारी तथ्यांक छ।