Advertisement
SKIP THIS
मंगलसैन नगरपालिकाको नेतृत्वमा संयुक्त बजार अनुगमन

अछाम:मङ्गलसेन नगरपालिकाकाे आयाेजना तथा नेतृत्वमा मङ्गलसेन बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा ५० वटा व्यवसायको निरीक्षण गरिएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षण गर्दै स्वच्छ, मर्यादित तथा प्रतिस्पर्धी बजार प्रणाली विकास गर्ने उद्देश्यले २०८२ साल असार २६ गते अनुगमन गरिएको हो।

अनुगमनका क्रममा २६ होटल तथा खाजा घर, २ मासु पसल, ५ कस्मेटिक तथा श्रृङ्गार पसल, २ सुनचाँदी पसल, १२ किराना पसल र ३ माछा पसल गरी जम्मा ५० व्यवसायको निरीक्षण गरिएको थियो।

निरीक्षणका क्रममा म्याद नाघेका, लेबल नभएका, गुणस्तरमा शंका लागेका वा बिक्रीयोग्य नभएका सामग्री सम्बन्धित व्यवसायीको रोहबरमा जफत गरिएको छ। प्रतिवेदनअनुसार ११ व्यवसायबाट मापदण्डविपरीत सामग्री जफत गरिएको हो। जफत गरिएका व्यवसायमध्ये १ एग्रोभेट, २ कस्मेटिक तथा श्रृङ्गार पसल, १ होटल तथा खाजा घर र ७ किराना पसल रहेका छन्।

त्यसैगरी, ३० वटा व्यवसायलाई व्यवसाय सञ्चालन थप व्यवस्थित, कानुनसम्मत तथा उपभोक्तामैत्री बनाउन आवश्यक सुझाव, परामर्श र सहजीकरण प्रदान गरिएको छ। व्यवसायीलाई व्यवसाय दर्ता तथा समयमै नवीकरण गर्ने, पसलमा स्पष्ट मूल्यसूची राख्ने, बिल–बिजक अनिवार्य प्रयोग गर्ने, म्याद नाघेका वस्तु बिक्री नगर्ने, खाद्य सामग्री स्वच्छ र सुरक्षित रूपमा भण्डारण गर्ने, सरसफाइमा विशेष ध्यान दिने तथा उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण शुल्कबापत रु. ६९ हजार १०० र सरसफाइ शुल्कबापत रु. ४६ हजार ६०० गरी जम्मा रु. १ लाख १५ हजार ७०० राजस्व संकलन भएको नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले बताउनुभयो।

 संयुक्त बजार अनुगमनले बजार व्यवस्थापन, गुणस्तरीय वस्तु तथा सेवा प्रवाह, सरसफाइ प्रवर्द्धन र राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाको भनाइ छ। साथै व्यवसायीमा कानुनी दायित्वप्रति सचेतना वृद्धि  गर्न र उपभोक्ता हित संरक्षण तथा स्वस्थ बजार प्रणाली प्रवर्द्धनका लागि बजार अनुगमन गरिएको उहाले बताउनुभयो ।

नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमन कार्यक्रमलाई नियमित, निरन्तर र अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै उपभोक्ताको अधिकार संरक्षण, गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता र सुरक्षित बजार वातावरण निर्माणमा जोड दिने नगरपालिकाले जनाएको छ।

अनुगमन टोलीमा मंगलसेन नगरपालिका जनस्वास्थ्य निरीक्षक भुमिनन्द ढुंगानाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अछाम, घरेलु तथा साना उद्योग विकास कार्यालय, प्रहरी चौकी मङ्गलसेन, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, नेपाल पत्रकार महासंघ तथा मङ्गलसेन नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमनका क्रममा कुल २५ जनाको सहभागिता रहेको थियोे ।

तपाईको प्रतिक्रिया