अछाम:मेल्लेख गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५४ करोड २८ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट बुधबार सार्वजनिक गरेको छ ।
गाउँसभाको १८औँ अधिवेशनमार्फत प्रस्तुत बजेटमा कृषि, पर्यटन , शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले जनकारी दिनुभयाे ।
स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई विशेष जोड दिइएको छ ।त्यसैगरी गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, पूर्वाधार विकास तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरूलाई समेत बजेटमा समेटिएको छ ।
गाउँपालिकाले समृद्ध र आत्मनिर्भर मेल्लेख निर्माणका लागि विकासमुखी योजना कार्यान्वयनमा केन्द्रित हुने जनाएको छ ।गाउँसभामा प्रस्तुत बजेटमाथि छलफलपछि आवश्यक सुझावहरू समेट्दै कार्यान्वयन प्रक्रिया अगाडि बढाइने गाउँपालिकाको भनाइ छ ।
कार्यक्रममा आर्थिक बर्ष २०८३/०८४ काे आर्थिक विधेयक र विनियोजन विधेयक उपाध्यक्ष नृपवहादुर खड्काले प्रस्तुत गर्नुभएको थियाे । भने विधायन समिति संयाेजक सालिभान साउद र सुशासन समिति संयाेजक देवसरा रावलले समितकाे प्रतिबेदन प्रस्तुत गर्नुभएको थियाे ।
सभामा सदस्यहरुले आर्थिक विधेयक र विनियोजन विधेयक तथा पालिकाकाे समसामयिक विषयमा आफ्नाे धारणा राखेका थिए भने सभाअध्यक्ष ज्वालासिंह साउदले सुझावलाई ग्रहण गर्दै गुनासाेकाे विषयमा थप छलफल गरेर असार २९ गतेकाे बैठकमा ठाेस निर्णय सहित प्रस्तुत गरिने बताउनु भयाे ।










