अछाम:अछामको मेल्लेख गाउँपालिकामा बिहीबार ‘अध्यक्षसँग युवा सहभागिता संवाद तथा रूपान्तरण कार्यक्रम’ सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा युवाहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले स्थानीय सरकार र युवाबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्।कार्यक्रममा मेल्लेख गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका युवाहरूले गाउँपालिकाले हालसम्म युवाका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, बजेट विनियोजन तथा उपलब्धिहरूबारे गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद सँग प्रश्न गरेका थिए। युवाहरूले सीपमूलक तालिम, स्वरोजगार, उद्यमशीलता विकास, खेलकुद, शिक्षा तथा नेतृत्व विकासका क्षेत्रमा गाउँपालिकाले गरेका काम र आगामी योजनाबारे जानकारी मागेका थिए।
संवादका क्रममा युवाहरूले गाउँपालिकाको नीति तथा कार्यक्रममा युवाको सहभागिता अझ प्रभावकारी बनाउनुपर्ने, बेरोजगारी समस्या समाधानका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने तथा युवालाई लक्षित बजेट वृद्धि गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना, कृषि तथा उद्यमशीलतामा लगानी, प्रविधिमैत्री सीप विकास तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।युवाहरूका जिज्ञासा र सुझावको जवाफ दिँदै अध्यक्ष साउदले गाउँपालिकाले युवालाई विकासको प्रमुख साझेदारका रूपमा हेरेको बताए। उनले नीति, योजना तथा बजेट निर्माण प्रक्रियामा युवाको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै युवाहरूलाई आफ्ना आवश्यकता र प्राथमिकता खुलस्त रूपमा राख्न आग्रह गरे।
“तपाईंहरूका लागि कस्तो नीति र बजेट आवश्यक छ, त्यसबारे स्पष्ट सुझाव दिनुहोस्। गाउँपालिकाले युवाका आवश्यकता र सुझावलाई समेटेर योजना तथा कार्यक्रम अघि बढाउनेछ,” अध्यक्ष साउदले भने।उनले युवाको क्षमता विकास, सीप अभिवृद्धि, स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने जानकारी समेत दिए। स्थानीय सरकार र युवाबीच नियमित संवाद आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले विकास प्रक्रियामा युवाको अपनत्व बढाउने विश्वास व्यक्त गरे।
सहभागीहरूले यस्ता संवाद कार्यक्रमलाई नियमित बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्थानीय सरकारसँग प्रत्यक्ष रूपमा आफ्ना समस्या, सुझाव र अपेक्षा राख्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी नीति तथा कार्यक्रम निर्माणमा आफ्ना सुझाव समेटिने विश्वास व्यक्त गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य युवाका आवाजलाई स्थानीय सरकारसम्म पुर्याउने, नीति तथा योजना निर्माण प्रक्रियामा युवाको सहभागिता बढाउने तथा युवामैत्री विकासका लागि आवश्यक सुझाव संकलन गर्नु रहेको थियो। कार्यक्रमले युवाहरूका विचार, अपेक्षा र आवश्यकतालाई स्थानीय सरकारसँग जोड्ने प्रभावकारी माध्यमको रूपमा काम गरेको सहभागीहरूको भनाइ रहेको छ। कार्यक्रममा ४० भन्दा बढी युवाको सहभागिता रहेको थियो कार्यक्रमको सहजीकरण अछाम मिडिया नेटवर्कले गरेको थियो ।










