अछाममा जबर्जस्ती करणी घटना: ७ हप्ताकी गर्भवती पीडित, एक जना पक्राउ
अछाम:जिल्लाको मङ्गलसेन नगरपालिका क्षेत्रमा एक सुस्त मनस्थिति भएकी महिलामाथि जबर्जस्ती करणी भएको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मङ्गलसेन–८ की अन्दाजी ३० वर्षीया, राम्रोसँग बोल्न नसक्ने महिलालाई गाउँघरमा गर्भवती रहेको हल्ला चलेपछि प्रहरी टोलीले मिति २०८३ वैशाख ५ गते उद्धार गरेको थियो।
उद्धारपछि OCMC मार्फत स्वास्थ्य परीक्षण गर्दा पीडितको पेटमा करिब ७ हप्ताको गर्भ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। त्यसपछि उनलाई सेफ हाउसमा राखी काउन्सिलिङ तथा गोप्य अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा पीडितको घर नजिकै निर्माणाधीन विद्यालयमा काम गर्ने एक दैनिक ज्यालादारी मजदुरले भवनभित्र लगेर जबर्जस्ती करणी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले शंकित व्यक्तिको हुलियाका आधारमा खोजतलास गर्दै मिति २०८३ वैशाख ७ गते मङ्गलसेन–५ बाट एक जनालाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा पक्राउ पर्ने व्यक्ति मकवानपुर, हेटौँडा उपमहानगरपालिका–२ का ५८ वर्षीय राजन फुयाँल शर्मा रहेको खुलेको छ।
पीडितले उनलाई नै दोषीका रूपमा सनाखत गरेपछि मिति २०८३ वैशाख ८ गते आफन्तमार्फत जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ।
हाल दुवै जनाको स्वास्थ्य परीक्षण सम्पन्न गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।









