काठमाडौँ :नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुन सक्ने आशंका व्यक्त गरेका हुन् । उनले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री खनालले संघीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताए । सरकारकै घटक दल नेपाली कांग्रेस समाजवादी मोर्चालाई लिएर सशंकित रहेको समयमा उनले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गरे । यसका साथै सम्पूर्ण वामपन्थी शक्तिहरु मोर्चामा आबद्ध हुनसक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चाबद्ध हुन सम्भव नरहेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको बताउँदै सरकारले गर्ने राम्रो वा नराम्रो कामले सरकारको भविष्य निर्धारण गर्ने बताए ।