निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्राको बान्नीगढीमा ६ सय २५ वर्षअघि देवचन्द्र शाहका छैटौं सन्तानका रुपमा जन्मिएका राजा हरिचन्द्र शाहले बरदादेवी भगवतीको मन्दिर स्थापना गरेदेखि यो ठाउँलाई स्वर्गका रुपमा तुलना गर्ने गरिन्छ ।

धार्मिक पर्यटकीय क्षेत्र बान्नीगडीमा बरदादेवी भवगतीको मन्दिरसहित पाँच सय मिटर लामो गुफा, विभिन्न किसिमका कुवा, शिवालय, देबीधारा, झिने धारा रहेका छन।
यहाँबाट पर्यटकीय क्षेत्र खप्तड, रामारोशन, साइपाल, बडिमालिका, तितौडासहित डोटी, डडेल्धुरा, बाजुरा, बझाङ, दैलेख र कालिकोटका अधिकांश भाग हेर्न सकिन्छ ।


समुद्री सतहबाट करिब १३३० मिटर माथि रहेको बान्नीगढी बिमकोटे, दर्नाली र घुँघुँरकोटे राजाहरुले सुरक्षित ठाउँ ठानेर यसलाई आफ्नो सुरक्षा गणका रुपमा स्थापना गरेको किंवदन्ती छ ।


चारैतीरबाट सुरक्षित रहेकाले सोमवंशी राजाका १४ पुस्ताले यो डाँडालाई आफ्नो किल्लाका रुपमा प्रयोग गरेका थिए । नेपाल एकीकरणका बेला बहादुर शाहले स्थापना गरेको दसैं घरसमेत यहीँ छ ।
यहाँ पुग्ने सबैलाई यो ठाउँ स्वर्गको टुक्रा जस्तो लाग्छ ।



















