महाशिवरात्रीको अवसरमा वैद्यनाथमा मेला सुरु, यस्तो छ धार्मिक महत्त्व
निराकरण सम्वाददाता अछाम:आज महाशिवरात्री देश भरका शिव मन्दिरमा पुजा आरचना सुरु भएको छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र काठमाडौंमा रहेको पशुपति सहित देशभरका शिव मन्दिरमा बिहानै देखि दर्शनार्थीको भिड सुरु भएको छ।
यता नेपालकै चार धाम मध्येको एक साफेँबगर नगरपालिका १ बैधनाथमा रहेको बैद्यनाथमा महाशिवरात्रीको अवसरमा मेला नै लागेको छ।
बिहानै सबेरै देखि मन्दिरमा पुजा गर्न आउने भक्तजनहरु लाईनमा लागेर पुजा गरिरहेका छन।
हरेक वर्ष मन्दिरमा महाशिबरात्रीको अवसरमा बैधनाथमा मेला लाग्ने गर्दछ । मेला सहित दर्शन गर्नका लागि सुदूरपश्चिम प्रदेशका बाजुरा, डोटी कैलाली लगाएत भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहारलगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन।
वैद्यनाथको धार्मिक महत्त्व
रावणले तपस्या गरी शिवको बरदान पाएको ठाउँ भनेर चिनिन्छ वैद्यनाथ । मन्दिरका पुजारी देवराज उपाध्याय भन्छन्, ‘पुराणअनुसार १० टाउका भएका रावणले आफ्नो लक्ष पाउनका लागि आफ्नै टाउको काट्दै हवन गर्दै गए । यसरी उनले नौ टाउका काटेर होमकुण्डमा हालिसक्दा समेत शिवको दर्शन नपाएपछि स–शरीर हमन गर्ने सोचेर दशौं टाउको काट्न लाग्दा शिवजीले वैद्यको रुपमा दर्शन दिए । वैद्य भएर रावणका सबै टाउकाहरु फेरि जोडेका कारण यस क्षेत्रको नाम वैद्यनाथ राखिएको हो ।’
रावणले शिवजीलाई बाचा गराई शिवलिंग लैजान माग गरे । बाचा अनुसार शिवले आफ्नोे लिंग दिए । सो कुरा पार्वतीले थाहा पाएपछि उनले अदृष्य शक्तिको प्रयोग गरी शिवलिंगलाई उठाउनै नसक्ने गह्रुंगो बनाइदिइन् । त्यसकारण रावणले लैजान नसकेपछि यो शिवलिंग यसै वैद्यनाथ क्षेत्रमा रहेको पुराणहरुमा उल्लेख गरिएको उपाध्याय बताउँछन् । १२ वटा ज्योतिर्लिंगमध्ये एउटा नेपालमा छ, जुन वैद्यनाथ धाममा अवस्थित छ । ‘हुन त भारतले झारखण्डमा रहेको वैद्यनाथ धामलाई असली भनेर प्रचार गर्छ, तर पुराणहरुमा गरिएको व्याख्याअनुसार सबै कुरा अछामकै वैद्यनाथ धामसँग मेल खान्छ’ वैद्यनाथ विद्याश्रमका प्रधानाध्यापक समेत रहेका उपाध्यायले भने, ‘वैद्यनाथ धाम क्षेत्रमा वृद्धनदी (बुढीगंगा), पद्मजा नदी (पाइली गाड), गोदावरी नदी (परभली नदी) र सरस्वती नदी (परभलीगाड) यस क्षेत्रमा मात्रै छन्, जुन पुराणमा व्याख्या गरिएका छन् ।’ यस्तै खेचरादी पर्वत (खप्तड) को फेदमा रहेको भन्ने उल्लेख भएको तर भारतमा खेचरादी पर्वत नभएको उपाध्यायको दावी छ ।
मन्दिर संरक्षण र व्यवस्थापनका लागि २०४४ सालमा वैद्यनाथ क्षेत्र विकास संस्था स्थापना भएको छ । उक्त संस्थाले मन्दिरको संरक्षण र विकास गर्दै आइरहेको छ।
साँफे हाटबजारबाट करिब तीन किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा माघे संक्रान्ति र महाशिवरात्रीका दिन मेला लाग्ने गर्छ । उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहारलगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन।
उक्त मेलामा सशस्त्र प्रहरी बलले सलामी दिने प्रचलन छ । यस्तै राष्ट्र शान्तिका लागि भन्दै बटुकहरुले प्रत्येक बिहान दुई घण्टा रुद्राभिषेक गर्दछन् ।









