काठमाडौं — काठमाडौँ उपत्यकालगायत देशभरको वायुमण्डलमा प्रदूषण बढेपछि सरकारले घरबाट बाहिर ननिस्कन आग्रह गरको छ । वायु प्रदूषणले स्वास्थ्यमा असर पार्ने भन्दै सरकारले सोमबारदेखि ४ दिनसम्म विद्यालयहरू बन्द गर्न निर्देशन दिइसकेको छ । काठमाडौँ उपत्यकाको वायु प्रदूषणको तह उच्च हुँदा आँखामा धेरै खालका समस्या देखापर्न सक्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर कमल खड्का बताउँछन् ।
वायु प्रदूषणले आँखामा गम्भीर खालका समस्या पुर्याउने डा. खड्का बताउँछन् । प्रदूषित हावामा आँखाको ख्याल नगरे मोतियाविन्दु, आँखाको क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ । डा. खड्काका अनुसार काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणले आँखामा निम्न खालका अल्पकालिन तथा दीर्घकालिन असर पुर्याउन सक्छ ।
—आँखा रातो हुने
—आँखा धमिलो हुने
—आँखा चिलाउने
—आँखामा घाउ हुने
—लामो समयसम्म आँखा चिम्म गरेर बस्न मन लाग्ने
—आँखा पोल्ने आदि अल्पकालिन समस्या हुन सक्छ
— आँखाको दृश्यशक्तिमा ह्रास आउने
—मोतियाविन्दू हुने
—आँखामा क्यान्सरसमेत भइ दीर्घकालीन समस्या हुनपनि सक्छ ।
गर्मी याममा र वायु प्रदूषणमा आँखाको हेरचाह गर्न आँखा रोग विशेषज्ञ डा. खड्का यस्ता सुझाव दिन्छन् ।
—वायू प्रदूषण हुँदा हावामा कार्वनमोनोअक्साइड र सल्फरडाइअक्साइड तत्त्व घुमिरहन्छन् त्यसैले चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
—वायुमण्डल प्रदूषित भएकाले सकेसम्म घरबाट बाहिर ननिस्कने । निस्कनै परेमा पोलोराइज्ड चश्मा लगाउने ।
—आँखालाई सधैँ सफा राख्ने, कम्तिमा दिनमा दुई तीन पटकसम्म चिसो पानीले आँखा पखाल्ने ।
—साबुन पानीले राम्ररी हात धोएर मात्रै आँखा छुने ।
—सौन्दर्यका लागि आँखामा प्रयोग गरिने गाजल, आइलाइनर, मस्करा सकेसम्म अरूलाई प्रयोग गर्न नदिने ।
—राति सुत्नुअघि गाजल, आइलाइनर, मस्करा राम्रोसँग सफा गर्ने ।
—आफ्नो आँखा सफा गर्न प्रयोग गरेको रुमाल अरूलाई प्रयोग गर्न नदिने ।
—सकेसम्म आईड्रप्सको प्रयोग कमभन्दा कम प्रयोग गर्ने । आईड्रप्सको हानिकारक रसायनले आँखामा झन् ठूलो समस्या पैदा गर्न सक्छ ।
—बालबालिका पानी खेल्न मन पराउँछन् । त्यसैले फोहोर पानीबाट टाढा राख्ने । बाहिरबाट आउँदा सबै जनाले हात धुने बानी बसाल्ने ।
—प्रत्येक दिन ताजा खाना खाने, खानामा अनिवार्य रूपमा सागसब्जी, गेडागुडीको समावेश गर्ने ।
—बालबालिकाको खानामा प्रोटिन, भिटामिन ‘ए’ समावेश गर्ने ।
—धेरै धुवाँ धुलो र घाममा धेरै समय नबस्ने ।
—कम्प्युटर ल्यापटपमा काम गर्दा लगातार नहेरी बीचबीचमा विश्राम लिने ।
—मोबाइल, कम्प्युटर, टेलिभिजन हेर्दा अलि टाढै बसेर हेर्ने बानी बसाल्ने ।रातोपाटी