काठमाडौंँ : अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले फिल्मको घोषणा गरेकी हुन् ।
पछिल्लो समय ‘फागु’ नामक फिल्म बनाएकी करिश्मा केही समयको अन्तरालपछि निर्माणमा देखिन लागेकी हुन् । फिल्ममा उनकी छोरी कविता र अभिनेता सरोज खनालको मुख्य भूमिका रहने छ ।
बाबुछोरीको सम्बन्धको विषयमा आफूले फिल्म ‘बनबास’ बनाउन लागेको करिश्माले बताइन् । ‘केही अगाडिदेखि यो फिल्मको तयारीमा थिएँ’ मानन्धरले भनिन् ‘अहिले आएर घोषणा गरेकी हँु ।’ फेसबुकमा करिश्माले फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरेकी छन् ।
करिश्माको अनुसार फिल्म सुशील क्षेत्रीले निर्देशन गर्दैछन् । छायाँकार समेत रहेका क्षेत्रीले नै यसको कथा तयार पारेका हुन् ।
असार साउनमा छायाँकनमा जाने गरेर तयारी भइरहेको फिल्मको अन्य जानकारी एक कार्यक्रम सहित दिने करिश्माको भनाइ रहेको छ ।
करिश्माकी छोरी कविताले केही साता अगाडि प्रदर्शित शिव श्रेष्ठको निर्माण रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।