लण्डन : लकडाउनका कारण बेलायतमा रोकिएका साढे तीन सय नेपालीलले स्वदेश फर्किन जरुरी भएको भन्दै लण्डनस्थित नेपाली दूतावासमा आफ्नो नाम दर्ता गराएका छन् । विदेशमा रोकिएका नागरिकलाई देश फर्काउने सरकारको नीतिअनुसार दूतावासले विवरण उपलब्ध गराउन आह्वान गरेपछि उनीहरु दूतावासको सम्पर्कमा आएका हुन् ।
दूतावासले शुक्रबारसम्मको पाँच दिनको समय उपलब्ध गराएर नेपाल फर्किन जरुरी भएका नेपालीलाई आफ्नो विवरणसहित नाम दर्ता गर्न आह्वान गरेको थियो । चाँडै नेपाल फर्किनुपर्ने भन्दै दूतावासमा नाम बुझाउनेहरुमा अध्ययनका लागि बेलायत आएका विद्यार्थी, भ्रमण भिसामा घुम्न आएका, जाँच दिन आएका चिकित्सक, प्रशिक्षणका लागि आएका कर्मचारी र छोटो भिसामा घरेलु कामदारका रुपमा आउने लगायत छन् । लकडाउनकै बेला नेपालमा आमाबाबुको निधन भएर काजक्रिया गर्न नपाएका केहीले पनि आफ्नो नाम दर्ता गराएका छन् ।
दूतावासका प्रवक्ता शरदराज आरनले संकलित विवरण सोमबारभित्रै नेपाल सरकारलाई पठाइने जानकारी दिएका छन् । लण्डनबाट सिधै विमान चार्टर गर्ने वा ट्रान्जिटसम्म आफ्नै व्यवस्थाले गएर त्यहाँबाट नेपाल पठाउने भन्ने दुई विकल्पबारे छलफल भइरहेको उनले बताए । यसरी नेपाल फर्किनेहरुले उडान निश्चित भएपछि कोरोना संक्रमण नभएको स्वास्थ्य प्रमाणत्र बुझाउनुपर्नेछ । साथै, टिकट र नेपाल फर्किएपछि १४ दिनको क्वारेन्टिनको खर्च पनि आफैँ व्यहोर्नुपर्नेछ ।
अहिले नाम दर्ता गर्ने सबैले यी सबै शर्तहरु पूरा गरेको अवस्थामा दुई वटा उडान व्यवस्था गर्नुपर्ने सोच दूतावासले बनाएको छ । त्यसअवस्थामा बढी जरुरी रहनेहरुलाई पहिलो उडानमा प्राथमिकता दिइने बताइएको छ । लकडाउनका कारण उडान बन्द भएपछि बेलायतमा रोकिएका कतिपय नेपाली अहिले साँच्चीकै अफ्ठ्यारोमै परेका छन् । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्न आएका आधा दर्जन नेपाली चाँडै नेपाल फर्किने व्यवस्था गरिदिन आग्रह गर्दै दूतावासको सम्पर्कमा आएका छन् ।
‘काम गर्ने घरमा बस्नै चाहन्नौं भन्दै केहीले हामीलाई सम्पर्क गर्नुभएको थियो । नेपाल फर्किने व्यवस्था नहुञ्जेल धैर्य गरेर बस्नुस् भनेर सम्झाएका छौं’, दूतावासका प्रवक्ता शरदराज आरनले भने, ‘एकजना त झगडा गरेर घर छोडेरै निस्किनुभएछ । हामीले एकजना नेपाली समाजसेवीको सहयोगमा उहाँलाई खाने,बस्ने प्रबन्ध मिलाइदिएका छौं ।’
बेलायतका नेपालीहरु कहिलेसम्म फर्किन पाउँछन् भन्नेबारे भने अझै केहि टुंगो छैन । आवश्यक तयारी पूरा गरेर नेपाल सरकारले नै उडानको तिथि तोक्ने दूतावासको भनाइ छ । उडान व्यवस्था नहुञ्जेल धैर्य गर्न समेत दूतावासले आग्रह गरेको छ ।