Advertisement
SKIP THIS
मेल्लेखका गाउँ–गाउँमा फाइबर इन्टरनेट पुग्यो,जडान गर्नेलाई ६ महिना नि:शुल्क

अछाम:मेल्लेख गाउँपालिकाका गाउँ–गाउँमा फाइबर इन्टरनेट सेवा विस्तार गरिएको छ। गाउँपालिकाले खप्तड नेट प्रा.लि.सँगको सहकार्यमा सबै वडामा फाईबर ईन्टरनेट पुर्याएको हो।

सबै वडा कार्यालय र सरकारी कार्यालयमा फाईबर लाइन पुर्याएपछि घरायसी प्रयोजनका लागि इन्टरनेट जडान गर्न सकिने भन्दैसूचना सार्वजनिक गरेको हो।गाउँपालिकाका अनुसार प्रविधिमा सर्वसाधारणको पहुँच विस्तार गर्ने, अनलाइन सेवाहरूलाई सहज बनाउने तथा विद्यार्थीहरूलाई अनलाइन शिक्षामा जोड्ने उद्देश्यले फाइबर इन्टरनेट विस्तार गरिएको हो।

गाउँपालिका अन्तर्गत सरकारी कार्यालयहरूसँगै घरघरमा पनि इन्टरनेट सेवा जडान गर्न सकिनेछ। यस कदमले स्थानीय स्तरमै डिजिटल सेवा प्रयोग बढ्ने र नागरिकको सूचना–प्रविधिमा पहुँच अझ सुदृढ हुने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले इन्टरनेट जडान गर्न इच्छुक सेवाग्राहीहरूलाई सम्बन्धित सेवा प्रदायक खप्तड नेट वा तोकिएका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ। साथै, प्रारम्भिक चरणमा सेवा विस्तारलाई प्रभावकारी बनाउन विशेष सहुलियत स्वरुप ६ महिना सम्मको नि शुल्क सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया