ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम लाल मोहरको निर्माता थिईन प्रतिभा रावल। कार्यक्रममा सरोकारवालालाई बोलाएर प्रतिबद्धता गराउने काम हुन्थ्यो । यो हेर्दा निर्माता प्रतिभा रावललाई प्रतिबद्धता गराएर मात्रै केही हुँदैन भन्ने लाग्थ्यो । केही समयमै ग्यालेक्सी टिभीका मुख्य व्यक्ति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे । त्यसको केही महिनामा रावल पनि पत्रकारिता छाडेर राजनीतिमा होमिइन् ।
एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी रावल अहिले रास्वपाबाट समानुपातिक सांसद भएकी छन् । ३२ वर्षीय रावलले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टिभी लगायतमा काम गरेकी थिइन् । ग्यालेक्सीमा काम गर्दा गर्दै उनी रास्वपाका सभापति लामिछानेसँग नजिक भएर काम गरिन् । उनकै प्रेरणाबाट राजनीतिमा आएको रावल बताउँछिन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरमा जन्मिएकी उनले एसएलसीसम्मको अध्ययन महेन्द्रनगरमै गरेकी हुन् । ५ वर्षकै उमेरमा बुबाको मृत्यु भएपछि प्रतिभा र उनका दाइलाई आमा माया रावलले अनेक संघर्ष गरेर हुर्काइन् । उनले आफूले दु:ख गरेर भएपछि छोराछोरीलाई पढाइन् ।
प्रतिभाकी आमा मायाले महेन्द्रनगरमै पसल खोलेर व्यवसाय गरिन् । त्यसपछि शिक्षण पेसामा लागिन् । त्यसैबाट छोराछोरीलाई पढाइन् ।
‘आमाले शिक्षाको महत्त्व बुझ्नुभएको थियो, त्यही भएर आफूले दुख गरेर पनि हामीलाई पढाउनुभयो,’ रावल भन्छिन्, ‘हामीलाई पनि पढाइको महत्त्व राम्रै गरी सम्झाउनुभयो ।’ उनले स्नातकसम्म अध्ययन गरिन् । त्यसपछि भारतको चेन्नईबाट पोस्ट ग्राजुएट गरिन् ।
महेन्द्रनगरमै हुर्केकी रावल यहाँको बारेमा राम्ररी जानकार हुन् । सुदूरपश्चिमबाट नेताहरूले पटकपटक प्रधानमन्त्रीदेखि महत्त्वपूर्ण मन्त्रालय सम्हाले पनि यो क्षेत्र अझै पछाडि परेको उनको बुझाइ छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार आदीमा सुदूरपश्चिम निकै पछाडि रहेकाले त्यसको विकासका लागि आफूलगायत पार्टीले नै काम गर्ने उनी बताउँछिन् ।
‘मैले स्कुल पढ्दा सडक जस्तो थियो अहिले पनि त्यस्तै छ, विद्यालय र अस्पताल पनि उस्तै छन्,’ रावलले भनिन्, ‘अहिले पनि यस क्षेत्रका बासिन्दाले उपचारका लागि भारततर्फ धाउनुपर्ने अवस्था छ, यसकै लागि हामीले काम गर्नुपर्ने हुन्छ ।’ उनले कञ्चनपुरबाट प्रतिनिधित्व गरेपनि समग्र सुदूरपश्चिमको विकासका लागि आफूले पहल गर्ने बताइन् ।
‘हामी विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका होइनौँ, अन्य पेसा छाडेर राजनीति गर्न आएका हौँ,’ रावलले भनिन्, ‘राजनीतिलाई पेसा बनाउनेभन्दा पनि काम गरेर देखाउने माध्यमका रूपमा काम गर्ने छौँ, सबैले महसुस गर्ने गरी काम गर्ने योजना बनाइरहेका छौँ ।’
रावलले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरिन् । रास्वपा गठन भएपछि केही महिनामै केन्द्रीय समिति बिस्तार भएको थियो । त्यही बेलादेखि उनी पनि प्रत्यक्ष रूपमा रास्वपासँग जोडिएकी हुन् ।
‘अन्य पेसाबाट जे गरेपनि परिवर्तन गर्न नसकिने रहेछ, राजनीतिबाट मात्रै सुधार गर्न सकिने हामीले बुझेका छौँ,’ उनले भनिन्, ‘त्यसकै लागि हामी यो महाअभियानमा जोडिएका हौँ ।’ रास्वपाले चुनावमा हात पारेको जितले सबैलाई हौस्याएको उनले सुनाइन् ।
रावलको घर गुल्मी भएपनि अहिले काठमाडौंमै बस्छिन् । उनका श्रीमान् प्रेम अर्याल चार्टड एकाउन्टेन्ट हुन् ।
कान्तिपुबाट









