अछाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सचिवालय सदस्य हरि ढकालले पछिल्लो समय रास्वपासप्रति जनताको आकर्षण तीव्रगतिमा बढिरहेको दाबी गर्नुभएको छ। उहाँका अनुसार पार्टी कार्यालयमा दैनिक सयौँ नव प्रवेशीको भीड लाग्नु जनविश्वास वृद्धि भएको प्रमुख संकेत हो।
अछाममा आयोजित रास्वपाको जिल्लास्तरीय बैठकलाई सम्बोधन गर्दै नेता ढकालले अछाममा पार्टी कार्यकर्ताको सक्रियता बढ्दै जाँदा संगठन सुदृढ बन्दै गएकोमा खुशी व्यक्त गरे। पुराना दलहरू छाडेर रास्वपामा प्रवेश गर्नेको संख्या बढेपछि कांग्रेस, एमाले र नेकपाका नेताहरू आत्तिन थालेको उनको भनाइ छ।
बालकदेखि वृद्धासम्मका नागरिकबाट रास्वपाले पाएको समर्थन उत्साहजनक रहेको बताउँदै ढकालले अब देशमा देखिँदै आएको बुथ कब्जा गर्ने प्रवृत्ति अन्त्य गरिने स्पष्ट सन्देश दिए। विदेशमा रहेका लाखौँ युवा आगामी चुनावमा गाउँ फर्केर अनियमितता गर्नेहरूलाई कारबाही गर्ने चेतावनी समेत उनले दिए।
अछामबाट पटक–पटक निर्वाचित भएर पनि जनताको अपेक्षा पूरा नभएको उल्लेख गर्दै नेता ढकालले एक पटक रास्वपालाई अवसर दिन स्थानीयलाई आग्रह गरे।
आईतबार साफेबगरमा रास्वपाको नगर कार्य समिति कार्यालयको उद्घाटन पनि नेता ढकालले गरेका थिए ।









