अछामःसाँफेबगर नगरपालिका ४ मष्टामाण्डौको साँफे—मंगलसेन सडक खण्डको छेउमै पशु सेवा शाखा छ । साँफेबगर नगरपालिका अन्र्तगतको पशु सेवा शाखा नामको मात्रै छ । यहाँ कुनै प्रकार औषधी छ न त पशु सम्बन्धी सेवा नै छ । पशु सम्बन्धी समस्या लिएर जाने अधिकाश कृषकहरु रित्तो हात फर्किनु पर्छ ।
पशु सेवा शाखाका प्राविधिक कृष्ण कुँवरका अनुसार अहिले पशु सम्बन्धी कुनै औषधी उपलब्ध नभएको बताउछन् । कुँवरले औषधीका लागी शाखाका आउने सेवाग्राहीलाई औषधी छैन भन्दै फर्काउनुको विकल्प नरहेको बताए । औषधी नहँुदा सेवाग्राहीहरु गाली खादै बस्नु पर्ने अवस्था रहेको उनले बताए ।
उनले भने,औषधी छैन, नभएको औषधी कहाँबाट दिनु भन्दा सेवाग्राहीसंग पटक पटक झगडा हुन्छ । बाहिरबाट औषधी किनेर ल्याएपछि उपचार भने गर्ने गरेका छौं ।’ साँफेबगर नगरपालिका स्थानीय मंगलादेवि कुँवरले बाख्राको जुकाको औषधीका लागी जति पटक पशु शाखामा गए पनि रित्तै फर्किनु परेको बताईन् । उनले भनिन् ,‘म जति पटक गए त्यति नै पटक औषधी नपाएर फर्किएको छु । केहि छैन शाखामा,हामीहरु जस्ता बाख्रा पालक कृषकहरुलाई सामान्य औषधी समेत पाउन सकेका छैनौ । ’
घरमा पालेको कुकुर लामो समयदेखि विरामी हुँदा बाहिर मेडिकलबाट औषधी किनेर पशु शाखामा उपचारको लागी ल्याएको स्थानीय कृष्ण विश्वकर्माले बताए । पशु शाखामा औषधी उपलब्ध नभएका कारण मेडिकलबाट औषधी किनेर उपचार गरेको विश्वकर्माले बताए । पशु सेवा शाखामा विगत ३ वर्ष देखि औषधी अभाव रहेको शाखा प्रमुख पदम थापाले बताए । शाखामा साउन महिना देखि त औषधी शुन्य नै रहेको थापाले बताए । उनले भने,‘नगरपालिकाबाट बजेट विनियोजन भएको छैन,विगतमा ल्याएको औषधीको भुक्तानी नै भएको छैन । पहिले जेनतेन उधारो औषधी ल्याएर वितरण गरेका थियौ । अब अवस्था नाजुक छ । ’










