अछाम:नेपाल मोबाइल ब्यावसायी महासंघ जिल्ला शाखा अछामले अछामका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। मंगलबार अध्यक्ष मीन बोगटिको नेतृत्वमा गएको मोबाइल ब्यावसायी महासंघ जिल्ला शाखा अछामको टोलिले प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साललाई बिभिन्न ३ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल सरकारद्वारा अवैधानिक घोषित पुनः प्रयोग गर्न मिल्ने मोवाइल फोनलाई मर्मत गरी चजारमा पुनः प्रयोगमा ल्याउन सकियो भने उपभोक्ताहरुले सुलभ मूल्यमा गुणस्तरीय फोन प्राप्त गर्न सक्ने,नयाँ मोवाइल आयातमा वाहिरिने विदेशि मुद्रा स्वदेशमै रहनुका साथै अर्थतन्त्रमा टेवा पुग्ने, धेरै युवाहरुलाई रोजगारीको अवसर पनि सिर्जना हुने ,अन्तर्राष्ट्रिय रुपमा Amazon, eBay, Alibaba जस्ता ई-कमर्स प्लेटफर्महरुले Refurbished मोबाइल फोनलाई कानूनी रूपमा बेच्ने गरेकाले नेपाल जस्ता विकासोन्मुख राष्ट्रमा यस्ता व्यवसायलाई प्रोत्साहन गर्नुको सट्टा प्रतिवन्ध लगाउनु अनुचित देखिएकोले आवश्यक प्रक्रियाहरु पूरा गरी न्यूनतम राजस्व दाखिला गर्ने गरी Refurbished मोवाइल फोन आयातको व्यवस्था मिलाउनु आग्रह गरेको छ।
उपभोक्ताले प्रयोग गरिरहेको पुरानो मोवाइल फोन विक्री गर्न चाहने अवस्थामा हालको जटिल प्रक्रियालाई सरलीकृत गरिनुपर्ने । बीजक नभएको अवस्थामा पनि आरश्यक कागजातहरुको आधारमा खरिद-विक्री गर्न मिल्ने नीति बनाउन सहयोग गरिदिन आग्रह गरेको छ।
यस्तै हाल मोवाइल मर्मत गर्ने प्राविधिकहरूले फोन अनलक गर्दा कानूनी झमेलामा पर्ने, समस्या देखिएको छ। नेपालमा ट्रयाकिङ प्रविधि (Tracking System) नहुँदा सिम कार्ड राख्नका लागि अनलक अनिवार्य हुन सक्छ। यस्तो अवस्थामा, प्राविधिकहरूले अनलक गरेवापत कानूनी कारवाहीमा पर्नुपर्ने अवस्थाको अध्य गरी तिनलाई उचित सुरक्षा प्रदान गरिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।










