Advertisement
SKIP THIS
१६ बर्षपछि ठडियो अछाम दरवार, उपप्रधानमन्त्री सिंहद्वारा उद्घाटन

अछाम:निर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार ठडिएको छ। २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा अछाम दरवार सहित अन्य कार्यालय ध्वस्त पारेको थियो । सोमबार उत्त दरवार नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंह अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रशाद लम्साललाई दरवार हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताए ।अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ । 

“देशका राजनीति स्थायित्व र स्थिरता नभईकन जनताले चाहे अनुसारको विकास निर्माणका कार्यहरू अगाडि बढाउन मुस्किल हुने भएकोले वर्तमान सरकार गठन भएको हो ।” संविधानप्रदत्त अधिकारहरू सबैलाई समान रूपमा उपभोग गर्न पाउने गरी आवश्यक सङ्घीय कानुनहरू समयमै बनाएर जनतालाई सेवा दिनेमा लागिरहेको मन्त्री सिंहको भनाइ रहेको छ । 

दरबार हस्तान्तरण कार्यक्रममा अछाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मन्तव्य राखेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुखलगायतको सहभागिता थियो । उपप्रधानमन्त्री आजै जिल्लाको पञ्च देवल विनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । 

तपाईको प्रतिक्रिया