अछाम:पोषण सुरक्षा सुधारका लागि अछामका दुई पालिकामा नयाँ परियोजना लागू भएको छ।
साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका ९ वटा वडामा पोषण सुरक्षा सुधारका लागि नयाँ परियोजना लागू भएको हो। परियोजना साँफेबगरका ५ वटा वडा र चौरपाटीका ४ वटा वडामा आगामी चार वर्षका लागि परियोजना लागू भएको छ।
पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशीलता कृषि प्रणालीमा महिला परियोजनाको बिहिबार साँफेबगरमा परिचयात्मक कार्यक्रम आयोजना गरिएको छ।
डब्लु एचएचको आर्थिक सहयोगमा वाक नेपाल, पीसवीन र समविकास नेपालले कार्यान्वयन गर्ने गरी साँफेबगरका वडा नम्बर २,३,९,१० र १४ तथा चौरपाटीका वडा नम्बर ४,५,६ र ७ मा लागू भएको सो अवसरमा जानकारी दिईयो।
डब्लु एचएचका प्राविधिक विज्ञ मानवहादुर धनामगरले ७५ प्रतिशत जर्मन सरकार र २५ प्रतिशत डब्लु एचएचको आर्थिक सहयोगमा परियोजना संचालन हुने जानकारी दिए।
कार्यक्रममा पीसविनका कार्यक्रम संयोजक सुरेन्द्र बहादुर सेरालाले कार्यक्रम अवधीभर दुई हजार पाँच सय घर धुरी लाभाम्वित हुने जानकारी दिए। उनले परियोजनामा कुल साढे ९ करोड बजेट खर्च हुने बताए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँद, अन्तरपार्टी महिला संजालका निवर्तमान सचिव पूर्णा शाह, समविकासकी उपाध्यक्ष दूधकला विष्टलगायतले सुझावसहितको मन्तब्य राखेका थिए।
वाक नेपालका अध्यक्ष मीन बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।










