अछाम :साँफेबगर नगरपालिका हाकिमलाई कार्यापालिकाको ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
फाल्गुन ८ गते बसेको साँफेबगर नगरपालिका कार्यपालिकाको छैठौं बैठकले निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रशाद शर्मालाई ३ दिने स्पष्टीकरण सोधेको छ।
माघ १८ गते देखि कार्यालयमा कुनै जानकारी नदिई सम्पर्क बिहिन भएकोले के कति कारणले कार्यालयका अनुपस्थिति भएको हो भनेर ३ दिन भित्र स्पष्टीकरण सोधिएको नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताए ।शर्मा पछिल्लो साढे दुई वर्षको अवधिमा पटक- पटक महिनौसम्म बिना जानकारी कार्यालयमा अनुपस्थित हुँदा काम कारबाही प्रभावित हुने गरेको व्यापक जनगुनासो बढेपछि स्पष्टीकरण सोध्ने निर्णय भएको कुँवरले बताए।
आर्थिक जिम्मेवार प्राप्त निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्मा बिना जानकारी सम्पर्क बिहिन भएपछि कार्यालयको आर्थिक गतिविधि ठप्प भएको छ। लेखा अधिकृत शर्मा करिब ५ बर्षदेखि साँफेबगर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन्।यस्तै लेखा फाटका एक जना कर्मचारीले राजिनामा दिएका र अर्का जिल्ला निर्वाचन कार्यालयमा गएपछि लेखा फाट समेत अस्तब्यत रहेको छ ।










